अनलाइन प्रणालीबाट पहिलो दिनमै लिए ८५५ जनाले पुनः श्रम स्वीकृति



काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेको छ । उक्त व्यवस्था गरेको पहिलो दिनमै अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिएपछि पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र थालिएको हो ।

वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको छ ।

आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल सहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले आफुले मन्त्रालयमा सुधारको अभियान सञ्चालन गरेको बताउँदै अनलाइन प्रणालीको सफलता महत्वपुर्ण उपलब्धी भएको बताए ।

सचिव अर्यालले सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको बताउनुहुँदै सेवाप्रवाहलाई सरलिकृत गर्नुपर्ने बताए । कार्यालय प्रमुख रमेश अर्यालले सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न कार्यालय परिसर भित्र हेल्प डेस्क स्थापना गरिएको र कार्यालयको काममा ठगिएमा, गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष सेवाग्राहीले गुनासो राख्ने वातावरण मिलाइएको जानकारी दिए ।

यसअघि श्रम स्वीकृति नविकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । औसतमा कार्यालयबाट प्रति दिन १५ सय ६५ जनाको अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।


क्लिकमान्डु