कृषि तथा पशुपन्छी बीमाः ८ वर्षमा साढे ५ अर्बको प्रिमियम, ४ अर्ब अनुदान



काठमाडौं । आठ वर्षमा नेपालमा साढे ५ अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुपन्छी बीमाबाट प्रिमियम संकलन भएको छ ।

सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले ८ वर्षको अवधिमा ५ अर्ब ५६ करोड २८ लाख रुपैयाँको कृषि तथा पशुपन्छी बीमा गरेका हुन् ।

नेपालमा कृषि क्षेत्रलाई व्यवसायिक र सुरक्षित बनाउन कृषि मन्त्रालयको नेतृत्वमा बीमा समितिले कृषि तथा पशुपन्छी बीमा पोलिसी सञ्चालनमा ल्याएको हो ।

२०६९ साल माग १ गते औपचारिकरूपमा कृषि तथा पशुपन्छी बीमाको शुरूवात भएको हो । बीमा समितिले कृषि बीमालाई अनिवार्य नगरे पनि कम्पनीहरूलाई जिल्ला नै तोेकेर कृषि तथा पशुपन्छी बीमा गर्नका लागि निर्देशन दिएको थियो ।

तर, समितिले गत मंसिर महिनामा निर्देशिका शंसोधन गरी ५ प्रतिशत कृषि तथा पशुपन्छी जारी गर्न निर्देशन दिएको छ । कृषि तथा पशुपन्छी बीमा सञ्चालनमा ल्याएको ८ वर्ष पुगेको छ ।

तथ्यांकअनुसार कृषि तथा पशुपन्छी बीमाअन्तर्गत पशु बीमाको अंश ९२.८४ प्रतिशत रहेको छ ।

बीमा समितिको तथ्याङ्कअनुसार ८ आर्थिक वर्षमा बाली तथा पशुपन्छी बीमाअन्तर्गत पशु बीमाको बजार हिस्सा यस्तो देखिएको हो ।

कम्पनीहरुले आथिर्क वर्ष २०७०/०७१ मा कृषि तथा पशुपन्छी बीमाबाट ३ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा १६ करोड १० लाख रुपैयाँ, आव २०७२/७३ मम २७ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

आथिर्क वर्ष २०७३/७४ मा आइपुग्दा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ४२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

भने आव २०७४/७५ मा आइपुग्दा कम्पनीहरुको व्यवसाय बढेको देखिन्छ । कम्पनीहरुले सो आवमा ५७ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क उठाउन सफल भएका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका कम्पनीले आव २०७६/०७७ मा एक अर्ब १८ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यस्तै गत आवमा कम्पनीहरुले एक अर्ब ९० करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

५ अर्ब १६ करोडको पशुपन्छी बीमा

बीमा समितिले उपलब्ध गराएको ८ आर्थिक वर्षको तथ्यांकअनुसार सो अवधिमा ५ अर्ब १६ करोड ४३ लाख रुपैयाँको पशुपन्छी बीमा भएको छ ।

कम्पनीहरुले आथिर्क वर्ष २०७०/०७१ मा पशुपन्छी बीमाबाट ३ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संक्लन गरेका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा १५ करोड २६ लाख रुपैयाँ, आव २०७२/७३ मम २५ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

आथिर्क वर्ष २०७३/७४ मा आइपुग्दा कम्पनीहरुले पशुपन्छी बीमाबाट ३९ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

भने आव २०७४/७५ मा आइपुग्दा कम्पनीहरुको व्यवसाय बढेको देखिन्छ । कम्पनीहरुले सो आवमा पशुपन्छी बीमाबाट ५४ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क उठाउन सफल भए ।

आर्थिक वर्ष २०७५/०७६ मा ९३ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका कम्पनीले आव २०७६/०७७ मा एक अर्ब ९ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै गत आवमा कम्पनीहरुले पशुपन्छी बीमाबाट एक अर्ब ७५ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

३९ करोड ८४ लाख रुपैयाँको कृषि बीमा

तथ्यांक अनुसार कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषि बीमाको व्यापार कम देखिएको छ । ८ आर्थिक वर्षको अवधिमा कृषि बीमामार्फत् कम्पनीहरुले ३९ करोड ८४ लाख रुपैयाँमात्रै बीमाशुल्क संकलन गरेका छन् ।

४ अर्ब रुपैयाँ अनुदान

कृषि बीमाबारे कृषक सचेत नभएपछि सरकारले कृषकलाई अभिप्रेरित गर्न अनुदानको समेत व्यवस्था गरेको छ ।

आव २०७०/७१ देखि नै अनुदान दिँदै आएको छ ।

हालसम्म सरकाले चार अर्ब १६ करोड ३४ लाख रुपैयाँ अनुदान दिएको छ । पशुपन्छी बीमातर्फ सरकारले ३ अर्ब ८६ करोड रुपैयाँ र कृषि बीमातर्फ २९ करोड ८६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।


बिजया बास्कोटा