बेलायतमा स्टाफ नर्स लैजानका लागि आज द्विपक्षीय छलफल हुँदै



काठमाडौं । बेलायत सरकारले नेपालबाट १० हजार स्टार्फ नर्स लैजाने प्रतिबद्धता जनाएसँगै आज पहिलोपटक द्विपक्षीय छलफल गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज बेलायत सरकारको प्रतिनिधिहरूसँग पहिलोपटक प्रारम्भिक छलफल गर्ने भएको हो ।

बेलायत सरकारले १० हजार नर्स लैजाने जनाएको छ । सोहीअनुसार मन्त्रालयले रोजगार शाखाको प्रमुख अध्यक्षतामा बेलायती दूताबास, परराष्ट्र मन्त्रालयको सहभागितामा अध्ययन गर्ने कमिटी गठन भएको छ । सोही कमिटीले अध्ययन गरेर कार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

उनका अनुसार आज दिउँसो २ बजे बेलायत सरकारका प्रतिनिधिहरूसँग छलफल गर्ने तयारी भएको हो । ‘बेलायत सरकारसँग नेपालले पहिलोपटक जीटुजीमार्फत् कामदार लैजानेबारे छलफल गर्ने भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘उक्त छलफलले सम्भवत् श्रम सम्झौताको खाका तयार हुने अपेक्षा गरेको छ ।’

हाल समितिले कसरी लैजाने, के गर्ने र कुन मोडालिटीमा लैजाने भन्नेबारे अध्ययन गरिरेहेको उनको भनाइ छ । त्यसैले आज सो छलफलमा कुन मोडालिटीमा लैजाने, कुन प्रोटोकल अपनाउने भन्ने विषयमा छलफल हुने भएको छ ।

बेलायत सरकारले अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने जनाइएको छ ।

बेलायतले पहिलो पटक विदेशी मुलुकबाट नर्सको माग गरेको हो ।


क्लिकमान्डु