शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता



पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले एक लाख रुपै प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ ।

यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।

यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक ६ हजार ५०० रुपैयाँ रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो ।

बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो ।

नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक एक करोड १८ लाख रुपैयाँ बराबर खर्च भएको थियो ।


क्लिकमान्डु