आइपीओ ल्याउने तयारीमा रहेको नर्भिक अस्पतालले ५०% बोनस सेयर दिने



काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आइपीओ समेत निष्काशनको तयारीमा रहेको अस्पतालले पहिलो वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।


नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।

सम्पन्न वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायीत्वअन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जाकारी दिएका थिए ।

उनले अस्पतालमा हालै आइभिएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु