कमलादीमा बन्दै गरेको ‘स्काई वाक भ्यू टावर’ को ८०% काम सकियो, ६ महिनापछि सञ्चालनमा आउने



काठमाडौं । काठमाडौंको कमलादीमा बनिरहेको ‘स्काई वाक भ्यू टावर’ को ८० प्रतिशत कार्य सम्पन्न भएको छ । वन्डर्स नेपालले २०७६ सालमा नेपालमै पहिलोपटक स्काई टावर बनाउने भनिएको थियो । सोहीअनुसार कम्पनीले ८० प्रतिशत कार्य सम्पन्न गरेको हो ।

कम्पनीका प्रोजेक्ट म्यानेजमेन्ट डाइक्टर सञ्जीव रोकाले आगामी ६ महिनाभित्रमा सम्पन्न गर्ने तयारी भएको बताए ।

‘कम्पनीले समयमै सम्पन्न गर्ने तयारी गरेको छ,’ उनले भने, ‘हालसम्ममा ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।’

तर, कारोनाका कारण कार्यमा केही प्रभाव परेकाले २, ३ महिना लम्बिन सक्ने उनको भनाइ छ । कम्पनीले साढे १३ रोपनी जग्गामा ७८ मिटर उचाइको टावर बनाइरहेको छ । उक्त टावर २८ वर्षको लागि भाडामा लिएको कम्पनीले जनाएको छ । रोकाकाअनुसार कम्पनीले १ अर्ब १३ करोडमा सम्झौता गरेकाले सोही रकममा निर्माण सम्पन्न हुनेछ ।

स्काई वाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।

स्काई टावरको लिफ्ट चढेपछि ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र लिफ्ट रोकिनेछ । सो टावरमा ८ देखि १० ओटा कोठा, मिटिङ हल हुने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सो टावरमा बन्दै गरेको रेष्टुरेन्टमा १ सय जना अट्नेछ भने सबैभन्दा माथि टपमा स्काई वाक हुनेछ । उक्त टावर चढ्नका लागि सर्वसाधारणले निश्चित रकम तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ ।


क्लिकमान्डु