ग्लोबल आइएमई बैंकले ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने



काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने भएकाे छ ।

ग्लोबल आइएमई बैंकको आर एण्ड डि. इनोभेटिभ सोलुसन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि. इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयरका निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ-बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. ले कृषक पहिचान तथा कृषकहरुलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।

कर्जा, अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यबस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयर प्रा.लि.ले गर्नेछ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु