काठमाडौंकाे नयाँ भर्सनमा दुर्गममा ३ नयाँ सहर बनाउनु पर्‍यो: अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् ।

बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै मन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताए ।

उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने बताए ।

‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए ।

पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई निर्देशन दिएका छन् ।

त्यस्तै जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए ।

‘बूढीगण्डकी, अपर-अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्,’ उनले भने ।

त्यस्तै काठमाडौं-पोखरा-लुम्बिनीका लागि तीव्र गतिको यातायाता पूर्वाधार निर्माण गर्नुपर्ने पनि उनले बताए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए ।

‘काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्यो,’ उनले भने, ‘यो योजना तपाईंहरूको विशिष्टिकृत योजनामा हुनुपर्यो ।’

बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता थियो ।


क्लिकमान्डु