बैंक खाता जनसंख्या भन्दा धेरै भयो, साक्षरता त्यो संख्यामा पुगेन : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरेका छन् ।

उक्त अभियानको उद्घाटन गर्दैै गभर्नर अधिकारीले वित्तीय साक्षरता नम्बरमा हेरेर वित्तिय साक्षरताको दर ठयाक्कै एकिन गर्न नसकिने बताए ।

बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा खोजेर भेटिँदैन ।
वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौती छ’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ्ग पहुँचमा आएकालाई बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’

राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन् ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले ‘बैंकिङ्ग शिक्षा’ कार्यक्रमले शहरमा मात्रै नभएर गाउँ–गाउँमा बैंकिङ्गबारे बुझाउन भूमिका खेल्ने बताए ।

वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ उपयोगी हुने बताए ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए । उनले अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ्ग साक्षरता धेरै आवश्यक रहेको बताए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामको पछाडि ‘बैंक’ लेख्न दिन माग गरे ।

नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु