गोदाबरी स्टीलको व्यापार १०६ प्रतिशतले बढ्यो



काठमाडौं । गोदाबरी स्टीलको व्यापार १०६.६८ प्रतिशतले बढेको छ । सन् २०२० मा १ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा व्यापार बढाएर ३ अर्ब ३ करोड २० लाख रुपैयाँ पुर्याएको हो ।

सन् २०१९ को अप्रिल महिनादेखि उत्पादन शुरु गरेको कम्पनीले सन् २०२१ मा कुल २५६ दिन उद्योग सञ्चालन गरेको छ । कम्पनीको कुल उत्पादनमा ८५ प्रतिशत कच्चा पदार्थमा खर्च हुने गरेको छ ।

सरकारले चालु आवको बजेटमा स्वास्थ्य, पर्यटन तथा अन्य विकास निर्माणका कुल ३४ अर्ब रुपैयाँ छ्ट्याइएकाले स्टीलको व्यापारको भविष्य राम्रो देखिएको कम्पनीको भनाइ छ ।

यद्यपि पछिल्लो समयमा कोरोना महामारीका कारण केही समयका लागि व्यापारमा मन्दी छाएको पनि कम्पनीको भनाइ छ । कम्पनीले आगामी दिनमा सरकारले दीर्घकालीन महत्वका विकास निर्माणका काम बढाउने अपेक्षामा कम्पनीको व्यापार अझै बढ्न सक्ने कम्पनीको विश्वास छ ।

कम्पनी रौतहटको चन्द्रानिगाहपुरमा अवस्थित छ । कम्पनीले टीएमटी एण्ड प्लेन स्टील बार उत्पादन गर्दै आएको छ । कम्पनीको हाल दैनिक ६०० मेट्रिक टन उत्पादन क्षमता छ ।

कम्पनीले हालै ६ अर्ब ८० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । स्टील उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र आगामी दिनमा अझ धेरै कच्चा पदार्थ आवश्यक भएकाले स्टक राख्नका लागि अझ बढी कच्चा पदार्थ आयात गर्नुपर्ने कम्पनीको भनाइ छ ।

कम्पनीको प्रमोटरमा मुन्नाप्रसाद सेनुरिया बानियाँ छन् । उनी गोदाबरी बिजनेश अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन् । उक्त कम्पनी सन् १९५० मा स्थापना भएको थियो । ग्रुप अन्तर्गतका कम्पनीले एडीपीई पाइप, गार्डेन पाइप, वाटर ट्यांक, निर्माण सामग्रीको ट्रेडिङ एन्ड सप्लाईको काम तथा फ्याब्रिकेसन र ट्रान्सफर्मरहरु रिपेयरको काम गर्दै आएको छ ।


क्लिकमान्डु