सिद्धबाबा सुरुङमार्ग चिनियाँ ठेकेदारले बनाउने



काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम चिनियाँ ठेकेदारले बनाउने भएको छ । निर्माणका लागि ९ कम्पनीले प्रस्ताव पेश भएकोमा ४ वटा चिनियाँ कम्पनीले मात्रै प्राविधिक प्रस्ताव पास गरेका हुन् ।

प्राविधिक प्रस्ताव पास भएका ४ चिनियाँ कम्पनीमध्ये कम मूल्यमा आर्थिक प्रस्ताव पेश गर्नेले सुरुङमार्ग निर्माणको जिम्मा पाउने छ । जसको टुंगो एक सातापछि लाग्ने सडक विभागले जानकारी दिएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रमोदकुमार झाका अनुसार सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि निकालिएको ठेक्कामा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेड, चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, कोभेकर सीआरइजीसी जेभी, र सीसीइसीसी/सीआरसीसी १४ सियुयान जेभी पास भएका हुन् ।

सुरुङमार्ग निर्माणका लागि भारतीय कम्पनी केएमसी र नेपाली कम्पपनी भ्याली कन्स्ट्रक्सन प्रालिले पनि आवेदन दिएका थिए ।

‘यी कम्पनीबाट कम आर्थिक प्रस्ताव पेश गर्नेले ठेक्का पाउँछ,’ उनले भने, ‘त्यसका लागि छनोट भएका कम्पनीबाट परेको प्रस्ताव एक हप्तापछि खोलिने छ ।’

झाले कुनै छनोट नभएका कम्पनीहरुको उजुरी नपरेमा ठेक्काका लागि परेको आर्थिक प्रस्ताव एक हप्तामा खोलिने बताए । मूल्याङ्कन सकिएपछि छनोट नभएका कम्पनीहरुले आफ्नो केही गुनासो भए एक हप्ताभित्र उजुरी हाल्न पाउने प्रावधान रहेको छ ।

यसअघि सुरुङमार्गका लागि १० अर्ब रुपैयाँ लागन लाग्ने अनुमान गरिएको थियो ।

सिद्धबाबा सुरुङमार्ग करिब ५ किलोमिटर लम्बाइको हुनेछ । सुरुङमार्ग आयोजनामध्ये १ हजार १२६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुनेछ । साथै, माथिल्लो भागमा रक नेट र स्लोप प्रोटेक्सनलगायत कामसमेत गर्नुपर्ने झाको भनाइ छ ।

झाका अनुसार ठेक्का पाउने ठेकेदारले ५ वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्नुपर्ने छ । जसमा ९ महिना बिस्तृत डिजाइन र बाँकी ४ वर्ष ३ महिना निर्माण सक्नुपर्छ ।

‘ठेक्का पाउने निर्माण कम्पनीले नै ठेक्का अवधि बराबर अर्थात् ५ वर्ष सुरुङमार्ग सञ्चालन र मर्मतको जिम्मा आफैंले गर्नुपर्नेछ,’ उनले भने ।
सरकारले आफ्नै लगानीमा यो सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

‘३ वर्षअघि स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी)को आर्थिक र प्राविधिक सहयोगमा एकवर्ष लगाएर सुरुङमार्गको बेसलाइन गराएको थियो,’ उनले भने, ‘सोही आधारमा ठेक्का प्रक्रिया अघि बढेको हो ।’

सुरुङमार्गको काम माथिल्लो सिद्धबाबाबाट शुरु हुने झाले बताए । चिडियाखोलादेखि दुई लेनमा स्तरोन्नति गरिने सुरुङमार्गको अर्को भागको ५ सय मिटरलाई पनि दुई लेनमा स्तरोन्नती गरिने योजना रहेको झाले जानकारी दिए ।


क्लिकमान्डु