जीवन बीमा व्यवसायः पुराना कम्पनीको बजार हिस्सा गुम्दै, नेशनलको बढ्यो



काठमाडौं । जीवन बीमा व्यवसाय विस्तारमा नयाँ बीमा कम्पनी अग्रसर देखिएका छन् । व्यवसाय विस्तारमा नयाँ कम्पनी अगाडी देखिँदा पुराना कम्पनीको बजार हिस्सा गुम्दै गएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सञ्चालनमा रहेका ३ वटा पुराना कम्पनीबाहेक अरु सबैको बजार हिस्सा खस्कँदै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा पुराना जीवन बीमा कम्पनीतर्फ एशियन ,सुर्या लाइफर नेशनल लाइफको मात्रै बजार हिस्सा बढेको छ भने अरु सबै पुराना बीमा कम्पनीको बजार हिस्सा घटेको छ ।

एलआइसी पछि नेपाल लाइफ र राष्ट्रिय बीमा संस्थानले सबैभन्दा धेरै दरले बजार हिस्सा गुमाएका छन् ।

यी कम्पनीको बजार हिस्सा एक प्रतिशत विन्दु भन्दा धेरैले गुमेको हो ।

नेपाल लाइफको बजार हिस्सा १.९३ प्रतिशत विन्दुले घटेर २६.७३ प्रतिशतमा सिमित भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीको बजार हिस्सा २८.६६ प्रतिशत थियो ।

राष्ट्रिय बीमा संस्थानको बजार हिस्सा १.४४ प्रतिशत विन्दुले घटेर ९.७८ प्रतिशतमा कायम भएको थियो ।

तथ्यांक अनुसार गत आवको यसै अवधिमा संस्थानले कुल जीवन बीमा बजारमा ११.२२ प्रतिशत हिस्सा ओगटेको थियो ।

मेट लाइफको बजार हिस्सा ०.२८ प्रतिशत, गुँरास लाइफको ०.५९ प्रतिशत, प्राइम लाइफको ०.०३ प्रतिशतले घटेको हो ।

नेशनल, सुर्य र एशियनको भने बढ्यो

चालु आवको मंसिर मसान्तसम्मा पूराना बीमा कम्पनीमा नेशनल र एशियन लाइफले मात्रै बजार हिस्सा बढाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेशनल लाइफको बजार हिस्सा ०.७३ प्रतिशत विन्दुले बढेको हो भने एशियन लाइफको बजार हिस्सा ०.०५ प्रतिशत विन्दुले बढेको हो ।

चालु आवको मंसिर मसान्तसम्ममा नेशनल लाइफको बजार हिस्सा ९.७७ प्रतिशत छ भने एशियन लाइफको ४.७२ प्रतिशत ।

गत आवको यसै अवधिमा यी कम्पनीको बजार हिस्सा क्रमशः ९.०५ प्रतिशत र ४. ६७ प्रतिशत थियो ।यस्तै सुर्या लाइफको ०.३५ प्रतिशत विन्दुले अघिल्लो वर्षभन्दा बजार हिस्सा बढेको छ ।

५७ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधि अर्थात मंसिर मसान्तसम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जुन गत आवको यसै अवधिको तुलनामा १७.२३ प्रतिशतले बढेको हो ।

गत आवको ५ महिनको अवधिमा १९ जीवन बीमा कम्पनीले कुल ४९ अर्ब ३० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेका थिए ।

व्यवसाय विस्तारमा नयाँ कम्पनी आक्रामक

बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांकलाई आधार मानेर हेर्दा व्यवसाय विस्तारमा नयाँ जीवन बीमा कम्पनीहरु आक्रामक देखिएका छन् ।

धरै व्यवसाय विस्तार गर्ने जीवन बीमा कम्पनीको शीर्ष स्थानमा सबै नयाँ बीम्मा कम्पनी परेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै प्रतिशतले व्यवसाय विस्तार गर्नेमा सन नेपाल लाइफ परेको छ ।

सन नेपाल लाइफले १२२.५७ प्रतिशतले बीमाशुल्क बढाएको छ ।

यो सँगै व्यवसाय बढाउनेमा अन्य नयाँ कम्पनी नै अग्रसर देखिएका छन् ।

यस अवधिमा सन नेपाल पछि व्यवसाय बढाउनेमा प्रभु लाइफ परेको छ । प्रभुले ९३.२९ प्रतिशतले व्यवसाय बढाएको छ ।

यस्तै, सिटिजनले ९१.६७ प्रतिशत, रिलायन्सले ८९.६८ प्रतिशत, महालक्ष्मी लाइफले ५४.३३ प्रतिशतले व्यवसाय बढाएका छन् । ज्योति लाइफ, आइएमई लाइफ, सानिमा लाइफ, रिलायबल नेपाल लाइफ र यूनियन लाइफले भने ५० प्रतिशतभन्दा कमका दरले व्यवसाय बढाएका छन्

एलआइसी र गुँरास लाइफको बीमाशुल्क घट्यो

चालु आवको ५महिनाको अवधिमा एलआइसी नेपाल र गुराँस लाइफको बीमाशुल्क संकलन रकम घटेको छ ।

यस अवधिमा गुराँस लाइफ र एलआईसी नेपालको बीमाशुल्क ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बीमाशुल्क संकलनमा नेपाल लाइफको अग्रता अथावत

यस अवधिमा १५ अर्ब ४४ करोड रुपैयाँभन्दा बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनमा ९.३४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको मंसिरसम्ममा कम्पनीले १४ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

नेपाल लाइफपछि यस अवधिमा एलआईसीले धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको मंसिर मसान्तसम्मा ६ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।


बिजया बास्कोटा