बलम्बु फ्लाइओभरका लागि जग्गा धनीसँग लालपूर्जा लिने काम शुरु, तत्काल ३१ करोड ५० लाख बाँडिने



काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गाको लालपूर्जा लिने काम शुरु भएको छ ।

जग्गा अधिग्रहण गर्दा मुआब्जा रकम १ अर्ब १४ करोड रुपैयाँ लाग्ने भएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ विनियोजन गरेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका निर्देशक तथा इन्जिनियर नरेशमान शाक्यले बताए ।

आफूहरुले अर्थ मन्त्रालयमा लगेको प्रस्तावअनुसार मन्त्रालयले हाल ३० करोड रुपैयाँ मुआब्जाका लागि बजेट विनियोजन गरेको उनले बताए ।

‘एक करोड ५० लाख रुपैयाँ पहिलेनै विनियोजन भएको थियो,’ उनले भने, ‘अब तत्काल हामीसँग मुआब्जा वितरण गर्न ३१ करोड ५० लाख रुपैयाँ बजेट छ ।’

मुआब्जाका लागि अरु बाँकी आवश्यक पर्ने रकम ८२ करोड ५० लाख रुपैयाँको पनि मन्त्रालयमा अर्को हप्तासम्ममा प्रस्ताव लगिने उनले बताए । शाक्यका अनुसार मुआब्जा रकमको विवाद टुङ्गिएसंगै सरकारले मुआब्जा वितरणका लागि १ अर्ब १४ करोड रुपैयाँ निर्धारण गरेको थियो ।

‘जग्गा धनीलाई प्रति आना ५२ लाख रुपैयाँसम्म मुआब्जा तोकिएको छ,’ उनले भने ।

राजमार्गबाट सुरुङमार्गतिर मोडिदा जाम हुन सक्ने भन्दै फ्लाइओभर निर्माण गर्न लागिएको हो । यो फ्लाइओभर १२८ मिटरको लामो हुने आयोजनाले बताएको छ । यसमा दुई लेनको बाटो हुनेछ ।


क्लिकमान्डु