बैशाखमा भन्सार एजेन्टको परीक्षा हुने, सर्वोच्चले खारेज गर्यो रिट



काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले भन्सार एजेन्टको परीक्षा रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेपछि परीक्षा सञ्चालनको तयारी गरिएको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा अगामी बैशाखसम्म भन्सार एजेन्टको परीक्षा सञ्चालन हुने बताउँछन् । ‘सर्वोच्च अदालतले परीक्षा रोक्न माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ । तर, अझै पनि फैसलाको पूर्णपाठ आएको छैन’, सापकोटाले क्लिकमाण्डुसँग भने, ‘लोक सेवा आयोगसँगको परामर्शमा निष्पक्ष परीक्षा सञ्चालन गर्ने हाम्रो योजना छ । त्यसका लागी हामीले तयारी सुरु गरिसकेका छौँ ।’


भन्सार विभागले २०७७ चैत्र १६ को सार्वजनिक सूचना जारी गर्दै भन्सार एजेन्टको इजाजत लिन दरखास्त आह्वान गरेको थियो । विभागले २२ वर्षपछि ६६० जना भन्सार एजेन्ट थप्ने तयारी गरेपछि परीक्षा खारेजीको माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट ५८३ जनालाई भन्सार एजेन्टको लाइसेन्स लिएको थियो ।

उक्त संख्या घट्दै हाल १७० जनामा सीमित छ । २२ वर्षपछि खुलेको भन्सार एजेन्टको इजाजत लिन स्नातक करिब १० हजार जना परीक्षाको तयारी गरेर बसेका छन् ।

पुराना भन्सार एजेन्टहरुले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेका हुन् । भन्सार नियमावली २०६४ मा भन्सार एजेन्ट हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने भनी गरिएको व्यवस्था खारेजको माग गर्दै सर्वाेच्चमा रिट दायर गरिएको थियो ।

रिट निवेदनले एजेन्टको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र (+२) वा सो सरह बनाउनु पर्ने माग गरेका थिए । गत वैशाख १२ गते विभागको सर्वोच्च अदालतले परीक्षा सञ्चालनको पक्रिया सुरु नगरि यथास्थितिमा राख्नु भन्ने अल्पकालिन आदेश जारी गरेपछि भन्सार एजेन्टको परीक्षा लिने प्रक्रीया अबरुद्ध भएको थियो । तर, सर्वोच्च अदालतले रिट निवेदन खोरज गर्दै परीक्षा रोक्न अस्विकार गरेपछि विभागलाई भन्सार एजेन्टको परीक्षा लिने बाटो खुलेको हो ।

यसअघि पनि अदालतमा मुद्दा परेकै कारण नयाँ भन्सार एजेन्टलाई इजाजत दिने प्रकृया रोकिएको थियो । भन्सार एजेन्टको परीक्षा सञ्चालान गर्न विभागले २०६९ असारमा पहल गरेपनि दरखास्त फाराम भरिसके पछि २०६९ साउनमा पूराना एजेन्टहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतको अन्तरिम आदेशबाट परीक्षा स्थगित गरिएको थियो । उक्त रिटको अन्तिम फैसला २०७२ फागुन महिनामा मात्र भएको थियो । त्यसयता विभागले भन्सार एजेन्टको परीक्षा संचालन गरि भन्सार एजेन्ट नियुक्त गर्न सकेको थिएन ।

यसपटक भन्सार एजेन्ट थप्ने प्रक्रिया कुनै हालतमा नरोकिने विभागका महानिर्देशक सापकोटा बताउँछन् । ‘भन्सारको संख्या थपिएको छ । व्यवसायको आकारमा बृद्धि भएको छ’, सापकोटा भन्छन्, ‘भन्सार एजेन्टको संख्या मात्र थप्नु हुन्न भन्ने हुदैँन् । व्यवसायीले गुणस्तरिय सेवा पाउनु पर्छ । स्नातक र स्नातकोत्तर पास गरेका व्यक्तिले भन्सार एजेन्टको काम गर्छौ भनेर आवेदन दिएका छन् । त्यसैले विभागले जसरी पनि परीक्षा लिन्छ । र, नयाँ भन्सार एजेन्टको लाइसेन्स जारी गर्छ ।’

भन्सार एजेन्ट नियुक्त हुन नसक्दा भन्सार जाँचपासको काम प्रभावित हुँदै आएको छ । देशभर ३८ वटा मूल भन्सार र सो अन्र्तगत १३३ वटा छोटी भन्सार कार्यालयहरुबाट समेत भन्सार जाँचपास सम्बन्धी काम चुस्त रुपमा संचालन हुन सकेको देखिदैन ।


क्लिकमान्डु