वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका मृतकका परिवारले पाए साढे ८७ करोड



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयले गत आर्थिक वर्षमा पीडित परिवारलाई करिब साढे ८७ करोड रुपैयाँ रकम वितरण गरेको छ ।

बोर्डको सचिवालयले प्रगति विवरण सार्वजनिक गर्दै गत वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंगलगायत अन्य बिरामी खर्चहरू गरी ८७ करोड ४२ करोड ४९ हजार रुपैयाँ वितरण गरेको जनाएको छ ।

बोर्डले १२ सय १३ पुरुष र २९ महिला गरी १२ सय ४३ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका मृतक परिवारलाई ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ वितरण गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, अंगभंग/गम्भीर बिरामी १४३ जना कामदारलाई आर्थिक सहायतवापत ७ करोड ३३ लाख २ हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै, ४ जना कामदारका परिवारलाई औषधीपचारवापत २ लाख रुपैयाँ, ४ सय १३ अलपत्र कामदारको उद्दारका लागि २ करोड ६६ लाख ७२ हजार रुपैयाँ, १२२ कामदारको शव झिकाउन समन्वय र सहयोगबापत ९० लाख ६७ हजार रुपैयाँ, ७७० जना मृतकको शव घर ठेगानासम्म पुर्याउन १७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको बोर्डले जनाएको छ ।

साथै, बोर्डले २१ जना कामदारलाई अभिमुखीकरण तालिमवापतको रकम शोध भर्नाका लागि १४ हजार ७ सय, २२ सय ९ जनालाई वैदशिक रोजगार छात्रवृत्तिवापत २ करोड ८ लाख ८२ हजार रुपैयाँ र ९२ जनालाई सान्त्वना राहतवापत ४६ लाख रुपैयाँ वितरण गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु