सातै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्नलाई श्रममन्त्रालयले थाल्यो अध्ययन



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्न अध्ययन शुरु गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज तरिकाले तालिम प्रदान गर्न सातै प्रदेशमा ट्रनिङ सेन्टर खोल्न अध्ययन शुरु गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा तालिम, भाषालगायत अन्य विभिन्न कारणले हजारौं कामदारले समस्या झेल्दै आएका छन् ।

साथै, नेपालबाट सबैभन्दा बढी अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गर्दछ । जसले गर्दा दुर्घटना, मृत्यु हुने गर्दछ । त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई उपयुक्त सीप प्रदान गरी रोजगारीमा पठाउने तयारी गरेको हो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सचिव अर्यालले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने हुँदा कामदारलाई दक्षता बनाउनका लागि तालिममा जोड दिनुपर्ने बताएका हुन ।

उनकाअनुसार नेपालले व्यवसायीक कामदारलाई विदेश पठाउन सक्नुपर्दछ । उक्त कामदरालाई तालिम दिनका लागि मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको बताए ।

‘क्षमतावान कामदार पठाउन नसक्दाखेरी हाम्रो वैदेशिक रोजगार व्यवसाय धरासयी भयो । विप्रेषण धेरै घटीरहेको छ । हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारीलाई नै हामीले प्रश्रय दिनुपर्छ,’ उनले भने, ‘त्यसैले, मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका छौँ ।’

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सातै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्न अध्ययन गरिरहेको बताए ।

उनका अनुसार मन्त्रालयले प्रारम्भिक चरणमा नेपालमा तालिमको अवस्था कस्तो छ ? कसरी व्यवस्थित गर्न सकिन्छ ? भन्ने विषयलाई लिएर व्यवसायिक तालिम केन्द्रको प्रमुख कार्यकारी निर्देशकको अध्यक्षतामा समिति गठन भएको थियो । सो समितिले हालै कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे रिपोर्ट तयारी भएको छ ।

‘अलिे अध्ययन मात्रै भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कार्यान्वयनमा जानका लागि धेरै स्रोतको आवश्यक पर्छ । त्यसैले मन्त्रालयले कसरी क्षमतावान श्रमिक उत्पादन गर्न सकिन्छ भन्नेमा केन्द्रित छौं ।’

हाल पनि वैदेशिक रोजगार बोर्ड सचिवालयको सहकार्यमा विभिन्न व्यवसायिक तालिम केन्द्रले तालिम प्रदान गर्दै आएका छन् ।


क्लिकमान्डु