बीमा समितिले बढाएको शुल्क घटाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र



स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) र निर्माण व्यवसायी महासंघले बढेको बीमा शुल्क हटाउन माग गर्दै प्रधानमन्त्री लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बीमा समितिले असोजमा निर्जीवन बीमा कम्पनीहरूका लागि जारी गरेको मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स बिजनेश निर्देशन तत्काल खारेजीका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।


इपान र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्तरूपमा देउवासमक्ष ज्ञापनपत्र बुझाउँदै खारेजीका लागि आग्रह गरेका हुन् ।

इपानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिव बलराम खतिवडा, कार्यकारी सदस्य उत्तम ब्लोन लामा तथा निर्माण ब्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंहसहित प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै देउवाले बीमा समितिसँग छलफल गरेर समस्याको समाधानको गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका थिए ।

इपान र महासंघले आइतबारनै बीमा समितिमा पनि संयुक्तरूपमा सात दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको छ । सरोकारवाला निकायसँग कुनै छलफलै नगरी एकलौटी रूपमा जारी गरिएको सो निर्देशिकाप्रति आपत्ति जनाउँदै तत्काल खारेजीको माग राखेर सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको हो ।

प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मूल्य तोक्नुपर्ने विश्वव्यापी मान्यताविपरीत जारी गरिएको उक्त निर्देशिका बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा यो बिमाको सिद्घान्तविपरीत रहेको उनीहरूको भनाइ छ ।

निर्देशिका निजी क्षेत्रलाई निरुत्साहित गर्दै नेपालको आर्थिक समृद्धिको महान अभियानमा गम्भीररूपले बाधा उत्पन्न गर्ने दुस्प्रयासका रुपमा आएको र निर्जीवन बीमासँग सरोकारवाला निकायसँग कुनै छलफल नगरी हचुवा र लहडको भरमा अत्यधिक प्रिमियम वृद्धि गरी जारी गरेको उक्त निर्देशिकाले नेपालको ऊर्जा क्षेत्र र निर्माण उद्योगलगायत विभिन्न निजी क्षेत्र चौपट हुने उनीहरूको ठम्याइ छ ।


क्लिकमान्डु