मेलम्चीमा बाढीले बगाएको रातोपुलमा निर्माणाधिन बेलिब्रिज अन्तिम चरणमा



काठमाडौं । सिन्धुपाल्चोक चनौटे बजारमा मेलाम्ची बाढीले बगाएको रातोपुलमा निर्माणाधिन बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले अहिले यो बेलिब्रिजमा हाल्नुपर्ने फलामको स्टकचर फिटिङ र पिल्लरको काम भइरहेको बताए ।

यो बेलिब्रिजका लागि अर्थमन्त्रालयले ९० लाख ५० हजार निकासा गरेको हो ।

अर्थमन्त्रालयले बेलिब्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनाले कात्तिकको पहिलो हप्ताबाट रातोपुलको ठाउँमा बेलिब्रिज निर्माण थालेको थियो । हाल दुबैतिर बेलिब्रिज राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको पौडेलले क्लिकमाण्डूलाई बताए ।

‘आवश्यक पर्ने सम्पूर्ण फलामको संरचना निर्माण स्थलमा पुगिसकेको छ,’ उनले भने, ‘अब काम गर्न सजिलो छ । संरचनालाई व्यवस्थित रुपमा जडान गरी राख्ने काम बाकी हो ।’

अबको काम धेरै रहेको र यो बेलिब्रिज सम्पन्न गर्न यो महिनाको अन्तिमसम्म लाग्न सक्ने बताए ।

यो बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोलीले काम गरिरहेको हेलम्बु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सिनाले पनि जानकारी दिए ।

रातोपुलको ठाउँमा बेलिब्रिज बनेपछि पाँचपोखरी थाङपाल, किउल, तिम्बु, हेलम्बु, मेलम्ची लगायतका स्थानका लागि बाटो खुल्ने र स्थानीयका लागि सहज हुने उनको भनाइ छ ।

‘अहिले कल्र्भट राखेर सवारी साधन र स्थानीय आवतजावत गर्न सजिलो भएको छ,’ उनले भने, ‘सेनाले गरेको काम छिट्यो भइरहेको छ । अहिले फिटिङको काम भइरहेको र हामीले हेर्दा प्राविधिक रुपमा अब १० प्रतिशत काम बाकी छ ।’

तिमल्सिनाका अनुसार संरचना फिटिङको काम पनि २० मिटर जस्तो भइसकेको छ । खोलाको दुईपट्टि किनारको छेउछेउमा बेस उठाउने काम पनि सकिएको उनले जानकारी दिए । ‘हाल ९० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘अब सम्पूर्ण काम सकिन १५ दिन जति लाग्न सक्छ ।’

अर्का स्थानीय हस्त पण्डितले पनि पुलको काम सकिन लागेको बताएका छन् । ‘हाल संरचनाको फिटिङ र जडान भइरहेको छ,’ उनले भने, ‘यो रफ्तारमा काम भयो भनि अबको १० देखि १५ दिनमा काम सकिने देखिन्छ ।’

पुल बगाएपछि हेलम्बु गाउँपालिका भित्रको वडा १, २ र ३, पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २ र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए । यो बेलिब्रिज बनेपछि वर्षाको समयमा पनि स्थानीय र सवारी साधन सहजरुपमा आवतजावत गर्न सक्ने छन् ।


क्लिकमान्डु