नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गणतन्त्र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारी गर्ने तयारी गरेको छ ।

सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेसँग आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग भेट गर्दै नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्वन्धबारे छलफल गरी समझदारीको तयारी गरेको हो ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव आएको मन्त्री श्रेष्ठले बताए ।
नेपाली कामदारहरु सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने बताए ।

सिसेल्स हेर्ने नेपाली राजदुतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।

मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने ? कस्तो खालको सीप तालिम आवश्यक पर्दछ ? न्युनतम योग्यता र भाषागत क्षमताका साथै न्युनतम पारिश्रमिक लगायत सेवा सुविधाहरुबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताए । कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो ।

राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए । उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउनुहुँदै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताए ।


क्लिकमान्डु