अर्थमन्त्रीलाई विश्वास गरेनन् अन्तर्राष्ट्रिय संस्थाले, वैदेशिक सहायता झन् घट्यो



काठमाडौं । मुलुकमा तरलताको अभाव भइरहेको बेला वैदेशिक सहायताको प्रतिवद्धता पनि घटेको छ ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३४.५ प्रतिशतले घटेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक सहायता ल्याउन विभिन्न संस्थासँग छलफल भइरहेको भनिए पनि उनी अर्थमन्त्री भएपछि सहायता अझ घटेको छ । माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका शर्माले वैदेशिक सहायता ल्याउने भनेर विभिन्न प्रयास गरिरहेको बेला उनै पार्टी अध्यक्षले भने ति संस्थाहरुलाई गाली गर्दै हिडेका छन् ।

तीन महिनामा विभिन्न संघसंस्थाबाट ५५ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता दिने प्रतिवद्धता जनाएका छन् ।

यो गत वर्षको सोही अवधिको तुलनामा ३४.५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता रकम ८५ अर्ब ३९ करोड रुपैयाँ थियो ।

मुलुकमा आएको वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ५ अर्ब ८१ करोड रुपैयाँ छ भने ऋण सहायता ५० अर्ब १३ करोड रहेको छ ।

वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशः १०.४ प्रतिशत र ८९.६ प्रतिशत रहेको छ ।

कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये एशियाली विकास बैंकबाट सबैभन्दा धरै आएको छ । उसको भागमा अहिलेसम्म झन्डै ५६ अर्बमा ३३.३ प्रतिशत रहेको छ । त्यसपछि विश्व बैंक ३३.६ प्रतिशत र आईएफएडीबाट २०.८ प्रतिशत वैदेशिक सहायता दिने प्रतिवद्धता छ ।

अहिलेसम्मको वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार एवं सोसाग सम्बन्धित पूर्वाधार निर्माणको लागि प्राप्त भएको छ ।

कोभिडको लागि १९ अर्ब ७० करोडको हाराहारीमा वैदेशिक सहायता दिने प्रतिवद्धता छ । यो कुल वैदेशिक सहायताको ३५ प्रतिशत हो ।

त्यसपछि शिक्षामा १४ अर्ब ८० करोड ५७ लाख, कृषिमा ११ अर्ब ६२ करोड २७ लाख, स्वास्थ्यमा ५ अर्ब ८७ करोड ९५ लाख, वन तथा वातावरणमा ३ अर्ब ३३ करोड ९४ लाख र खानेपानी तथा सरसफाईमा ५९ करोड ६६ लाख रुपैयाँको वैदेशिक सहायत प्रतिवद्धता आएको छ ।


क्लिकमान्डु