वैदेशिक रोजगारीमा जानेहरुका लागि ५ लाख जोनसन खोप व्यवस्थापन



काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोनसनको खोप दिन सुरु गरेको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरुले एक डोजमात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई पत्र लेखेर खोप व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई कोरोना भाइरस विरुद्धको खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकाहरुलाई मात्र प्रवेश दिने भएकोले ५ लाख डोज खोप व्यवस्थापन गरिदिन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरेका छन् ।


क्लिकमान्डु