टोखा-छहरे सडकको सिस्नेरी भीरमा चट्टान काट्न शुरु, कहिले सकिन्छ ?



काठमाडौं । काठमाडौंदेखि नुवाकोट जाने छोटो दुरीको छहरे सडक खण्डमा चट्टान काट्न शुरु गरिएको छ ।

सडक डिभिजन कार्यलय नुवाकोटका सिनियर इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार यस सडक खण्डमा पर्ने सिस्नेरी भीरमा चट्टान काट्न शुरु गरिएको हो । त्यसका लागि एक महिना समय लाग्न सक्ने उनको भनाइ छ ।

यो चट्टान काट्ने समयावधि भरका लागि सकेसम्म बैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् । भण्डारीका अनुसार यो सडक भएर यात्रा गर्ने सवारी साधनका लागि वैकल्पिक बाटोको पनि व्यवस्था गरिएको छ ।


‘तर, बाटो अलि अफ्ठेरो रहेकाले सकेसम्म अरुनै बाटो भएर यात्रा गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘सिस्नेरी भीरमा चट्टान काट्नु पर्ने काम रहेकाले यो बाटो बन्द गरिएको छ ।’


अर्को वैकल्पिक बाटो छ तर आफ्नो सुरक्षाका लागि पनि अरु बाटो भएर यात्रा गर्दा राम्रो हुने भण्डारी बताउँछन् ।


‘यो सडक १० मिटरको फराकिलो बनाउँन लागि चट्टान काट्न लागिएको हो,’ उनले भने, ‘त्यसका लागि कुल ४० लाख बजेट भने यस अघिनै विनियोजन भइसकेको थियो । बल्ल काम शुरु भयो ।’


कुनै बाधा–अड्चनबिना काम गर्ने वातावरण मिलेमा अबको एक महिनामा चट्टान काट्ने काम सकिने भण्डारीको भनाइ छ ।


‘चट्टान काट्ने क्रममा ढुङ्गाहरु खस्न सक्छ, त्यसले दुर्घटना निम्त्याउन सक्छ,’ उनले भने, ‘त्यसैले यो सडक बन्द गरिएको हो ।’


सडक निर्माणका क्रममा स्थानियले भने बाटो बन्द गर्न नहुने भन्दै आएका छन् । त्यसैलाई मध्यनजर गर्दै हामीले वैकल्पिक बाटोको लागि अल्छे ढुङ्गा-सुनखानी ग्रामिण विद्यालय हुँदै थाना भन्ज्याङ्ग छिचोल्ने सडकमा साना सवारीहरु चल्न सक्ने व्यवस्था गरिएको उनले बताए ।


तर, यो वैकल्पिक बाटोमा ठुला सवारी साधन चल्न भने कठिन हुने उनको भनाइ छ ।


क्लिकमान्डु