चरीकोट-जिरी सडक बिस्तारको काम ८० प्रतिशत सकियो, बाँकी कहिले सकिन्छ ?
काठमाडौं । लामोसाँघु-जिरी सडक बिस्तारको चरीकोट-जिरी खण्डको सडक निर्माण कार्य ८० प्रतिशत सकिएको छ । यो खण्डमा रहेको ५५ किलोमिटर सडक बिस्तारमध्ये ५० किलोमिटर सडक कालोपत्रे भएको चरीकोट–जिरी सडक बिस्तार आयोजनाले जानकारी दिएको छ ।
बाँकी ५ किलोमिटरको काम पनि चैतसम्म सक्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको चरीकोट-जिरी सडक बिस्तार आयोजनाका प्रमुख कृष्णराज पन्तले क्लिकमाण्डूलाई जानकारी दिए । यो आयोजनाको म्याद पनि चैतसम्मका लागि मात्र थपिएको पन्तले बताए ।
‘कोरोना भाइरस र लकडाउनले केही समय प्रभावित भएको सडक बिस्तारको काम हाल तीव्ररुपमा सञ्चालन भइरहेको छ,’ पन्तले भने, ‘अहिले यो सडक खण्डको काम रातदिन गरेर भइरहेको छ ।’
यो खण्डको काम मुडे-चरीकोट भन्दा पछि थलिएको पनि पन्तले बताए । ‘मुडे–चरीकोट खण्डको काम ठप्छ भने यो चरीकोट-जिरी सडक खण्डको काम भने तिब्र रुपमा भइरहेको छ,’ उनले भने, ‘यो खण्डको निर्माण व्यवसायी यही जिल्ला बासी रहेका र त्यही कुराको राम्रो प्रभाव निर्माण कार्यमा परेको अनुमान छ ।’
यो सडक खण्डको निर्माण कार्यको ठेक्का भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनले पाएको थियो । नेपाली कम्पनी लामा कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक जिपछिरिङ शेर्पा हुन । सडक निर्माण गर्न एक्जिम बैंकको ३ अर्ब ७० करोड सहुलियत ऋण लगानी भएको हो । यी कम्पनीले २ अर्ब २८ करोडमा निर्माण गर्ने गरी २०७५ को चैतमा ठेक्का सम्झौता गरेको थियो ।
सडक निर्माण गर्न सुरुमा ३० महिना समय दिइएको थियो । कोरोनाका कारण सरकारले थप ६ महिना समय बढाइदिएको पन्तले बताए ।
३५ वर्षअघि स्विस सरकारको सहयोगमा यो सडकको निर्माण भएको हो । सो सडकको केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको पन्तको भनाइ छ ।
‘त्यही कारण यो खण्डको सडक बिस्तारमा मुआब्जाको समस्या आएन र काम समयमा सक्न सजिलो भएको छ,’ उनले भने, ‘अहिले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक बिस्तार भइरहेको छ ।’
निर्माण कम्पनीले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक ३ चरणमा कालोपत्रे गर्ने तयारीका साथ काम गरिरहेको थियो । साढे दुई खण्डको सडक कालोपत्रे सकिएको पन्तको भनाइ छ ।
‘अब अन्तिम खण्डमा रहेको ५ किलोमिटर सडकको मात्र काम बाँकी रहेको छ,’ पन्तले भने, ‘त्यो काम पनि चैतमै सक्ने छौं ।’