प्राधिकरणले उपत्यकामा करिब २५ करोड लागतमा २८ पार्क बनाउँदै
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्षमा २८ वटा पार्क बनाउने भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा उल्लेख भएको २८ वटा पार्क बनाउने भएको हो ।
प्राधिकरणले विगत लामो समयदेखि नै वार्षिक रुपमा विभिन्न स्थानमा पार्क निर्माण गर्दै आएका छन् । सोहीअनुसार यो वर्ष २८ वटा पार्क बनाउने कार्य अगाडि बढाएको प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिइन् ।
उनकाअनुसार २८ वटा पार्कमध्ये ३ वटा नमुना पार्क बन्ने भएको छ । जसमा उक्त पार्क बहुवर्षीय योजनामार्फत् निर्माण कार्य सम्पन्न हुनेछ ।
‘प्राधिकरणले कार्य अगाडि बढाएको २८ वटा पार्कमध्ये ३ वटा नमुना पार्क बन्नेछ,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘उक्त पार्क आव २०७९/८० सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।’ सो पार्क उपत्यकाका तीनवटा जिल्लामा १/१ वटा नमुना पार्क बनाउने भएको हो ।
हालसम्ममा काठमाडौं जिल्लाको किर्तिपुर चम्पादेवी जेष्ठ नागरिक पार्क बनाउनका लागि जग्गा तयार गरिसकेको बताइन् । तर, अन्य ललितपुर र भक्तपुरको भने निश्चित स्थानको विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् ।
सो पार्कका लागि अहिले प्रति पार्क १ करोडको बजेट छुट्टटाइएको छ । तर, बहुबर्षीय योजना भएकाले सो पार्कहरू लगभग ४ करोडसम्म्म लागत पुग्न सक्ने उनको अनुमान छ ।
त्यस्तै, चालु आवको अन्त्यसम्ममा प्राधिकरणले २५ वटा पार्कको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसमा १५ वटा पार्क १ करोड लागतको र अन्य १३ वटा पार्कको लागत १० लाखदेखि निर्माण कार्य शुरु भएको उनको भनाइ छ ।
प्राधिकरणले काठमाडौंको लैनचौरमा लैनचौर सहिद पार्क, बुढानिककण्ठमा गिरिजाप्रसाद पार्क र ओमनगर पार्क, चम्पादेवी पार्कलगायत अन्य विभिन्न स्थानमा पार्क बनाउने भएको छ ।
त्यस्तै, भक्तपुरमा अनन्तलिङ्गेश्वर महादेवी खोला पार्क, गणेशमान बाटिका पार्क, नाकथली कृष्ण मन्दिर पार्क, सल्लाघारी पार्कलगायत अन्य स्थानमा पार्क निर्माण गर्ने भएको छ ।
साथै, ललितपुरमा भने सैबु भैंसेपाटीलगायत अन्य विभिन्न स्थानमा पार्क निर्माण कार्य अगाडि बढाएको छ ।