साउनमै उद्घाटन गरिएको बीमा समितिको एकीकृत सफ्टवेयर कार्यान्वयनमा आएन



काठमाडौं । बीमा समितिको एकीकृत सफ्टवेयर अझै पूर्ण रुपमा कार्यान्वयमा आएको छैन ।

उद्घाटन गरिएको चार महिना वित्दा पनि समितिको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा भने नआएको हो ।

बीमा समितिले आफ्ना काम कारवाहीलाई चुस्त, दुरूस्त एवंम पारदर्शी बनाउनका लागि भन्दै २०७८ साल साउन १ गतेदेखि नयाँ सफ्टवेयर संचालनमा ल्याएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको कार्यालयमा नयाँ सफ्टवेयरको उद्घघाटन गरेका थिए ।

माघ १ गतेदेखि भने उक्त सफ्टवेयर पूर्ण रुपमा कार्यान्यवनमा आउने समितिले बताएको छ । सफ्टवेयर पूर्ण रुपमा नआउँदा कम्पनीहरुले म्यानुअल रुपमा नै तथ्यांक पठाउने गरेको समितिको भनाइ । सबै कम्पनीले सफ्टवेयरमा तथ्यांक नराख्दा कार्यान्वयनमा आउन समय लागको समितिले बताएको छ ।
सफट्वेयरले बीमा कम्पनीहरुलाई प्रभावकारी ढङ्गले नियमन गर्न सघाउ पुर्याउने समितिको विश्वास छ ।

बीमा व्यवसायलाई प्रविधिमैत्री बनाएर अगाडि बढाउन आधुनिक प्रविधिमा बीमा कम्पनीहरूले कानून बमोजिम समितिलाई उपलब्ध गराउनुपर्ने विवरण अनलाइनबाटै पठाउन सक्ने समितिको दावी छ ।

सफ्टवेयर संचालनमा आएसँगै बीमा समितिसँग सबै बीमा कम्पनीहरू अनलाइनबाटै जोडिने भएकाले बीमा कम्पनीबाट समयमै विवरण प्राप्त हुने समितिको भनाइ छ ।

कम्पनीबाट प्राप्त भएका तथ्यांकलाई अध्ययन विश्लेषण गरी बीमा सम्बन्धी नीति एवम् रणनीतिको परिमार्जन तथा विश्लेषणका साथै नियमन र सुरपरीवेक्षण गर्न समेत समितिलाई सहयोग पुग्ने विश्वास समितिले लिएको छ ।

बीमा कम्पनीहरूबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरू, बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ्, वित्तीय एवम् लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरू नयाँ सफ्टवेयरमार्फत समितिलाई प्राप्त हुनेछन् ।
सफ्टवेयरमार्फत बीमा कम्पनीहरूमा समितिबाट भएका स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमा सम्बन्धी विवरणहरूका साथै बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धी विवरणहरू समितिलाई प्राप्त हुने छ ।

समितिसँग सफ्टवेयर नहुँदा कम्पनीबाट प्राप्त हुने कागजात हराउने, कागजातहरु राख्ने ठाँउको अभाव हुने समस्या रहँदै आएका छन् । तर, उक्त सफ्टवेयर सञ्चालनमा आएपछि भने यी सबै समस्याको समाधान हुने विश्वास समितिले लिएको छ ।

२०७६ असार १६ गते बीमा समितिले एकीकृत सफ्टवेयर प्रणाली निमार्णका लागि ३५ दिने टेन्डर आह्वान गरेको थियो । २० लाख रुपैयाँको लागतमा ‘आईआरएमआइएस’नामक सफ्टवेयर निर्माण दर्शन टेक कम्पनीले गरेको थियो ।


क्लिकमान्डु