पुसदेखि बीमा समितिको एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा



काठमाडौं । पुुुस महिनादेखि बीमा समितिको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा आउने भएको छ ।

बीमा समितिले आफ्ना काम कारवाहीलाई चुस्त, दुरूस्त एवम् पारदर्शी बनाउनका लागि भन्दै बीमा कम्पनी र सरोकारवालाहरूलाई छिटो छरितो रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले २०७८ साल साउन १ गतेदेखि नयाँ सफ्टवेयर संचालनमा ल्याएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको कार्यालयमा नयाँ सफ्टवेयरको उद्घाटन गरेका थिए ।

सञ्चालनमा ल्याइएको तीन महिना बित्दा पनि केही कम्पनीहरुले समितिको निर्देशन नमानी सफ्टवेयरमार्फत् तथ्याङक नपठाउँदा कार्यान्वयनमा आउन ढिलाइ भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

सञ्चालनमा आएको तीन महिना वितिसक्दा पनि समितिले दिएको निर्देशनलाई कम्पनीहरुले पालना नगर्दा उक्त सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको हो ।

‘केही कम्पनीहरुले निर्देशन पालना नगर्दा पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको हो । पुस महिनादेखि पूर्णरुपमा कार्यान्वयनमा आउने छ,’ पौडेलले क्लिकमाण्डुसँग भने । कम्पनीहरुले अहिले सफ्टवेयरसँगै म्यानुअल डाटा पठाउने गरेको उनले बताए ।

सफट्वेयरले बीमा कम्पनीहरुलाई प्रभावकारी ढङ्गले नियमन गर्न सघाउ पुर्याउने समितिको विश्वास छ ।

बीमा व्यवसायलाई प्रविधिमैत्री बनाएर अगाडि बढाउन आधुनिक प्रविधिमा बीमा कम्पनीहरूले कानून बमोजिम समितिलाई उपलब्ध गराउनुपर्ने विवरण अनलाइनबाटै पठाउन सक्ने समितिको दावी छ ।

सफ्टवेयर संचालनमा आएसँगै बीमा समितिसँग सबै बीमा कम्पनीहरू अनलाइनबाटै जोडिने भएकाले बीमा कम्पनीबाट समयमै विवरण प्राप्त हुने समितिको भनाइ छ ।

कम्पनीबाट प्राप्त भएका तथ्यांकलाई अध्ययन विश्लेषण गरी बीमा सम्बन्धी नीति एवम् रणनीतिको परिमार्जन तथा विश्लेषणका साथै नियमन र सुरपरीवेक्षण गर्न समेत समितिलाई सहयोग पुग्ने विश्वास समितिले लिएको छ ।

बीमा कम्पनीहरूबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरू, बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ्, वित्तीय एवम् लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरू नयाँ सफ्टवेयरमार्फत् समितिलाई प्राप्त हुनेछन् ।

सफ्टवेयरमार्फत् बीमा कम्पनीहरूमा समितिबाट भएका स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमा सम्बन्धी विवरणहरूका साथै बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धी विवरणहरू समितिलाई प्राप्त हुने छ ।

समितिसँग सफ्टवेयर नहुँदा कम्पनीबाट प्राप्त हुने कागजात हराउने, कागजातहरु राख्ने ठाँउको अभाव हुने समस्या रहँदै आएका छन् । तर, उक्त सफ्टवेयर सञ्चालनमा आएपछि भने यी सबै समस्याको समाधान हुने विश्वास समितिले लिएको छ ।

२०७६ असार १६ गते बीमा समितिले एकीकृत सफ्टवेयर प्रणाली निमार्णका लागि ३५ दिने टेन्डर आह्वान गरेको थियो । २० लाख रुपैयाँको लागतमा ‘आईआरएमआइएस’नामक सफ्टवेयर निर्माणको काम दर्शन टेक कम्पनीले पाएको थियो ।


क्लिकमान्डु