यस्ता छन् नेपालमा उपलब्ध राइड सेयरिङ एप, कसका कस्ता विशेषता ?



काठमाडौं । प्रविधिको विकासले भित्र्याएको राइड सेयरिङ एपको लोकप्रियता दिनदिनै बढ्दै गएको छ । पछिल्लो समय कोरोना महामारीका कारण पनि यसको माग बढेको देखिन्छ । मानिसलाई दैनिक बस वा ट्याक्सीको यात्रामा कठिन हुने भएपछि सेयरिङ एपमार्फत हुने राइडिङले व्यापकता पाएको हो ।

सजिलो यात्राको व्यवस्था मिलाउन केही नयाँ स्टार्टअपले नेपालमा पनि राइड सेयरिङ एपलाई प्रयोगमा ल्याएका हुन् ।

सार्वजनिक सवारीमा यात्रा गर्दा कोरोना संक्रमणको जोखिम, भिडभाड हुने, ढिला पुगिने, घण्टौ कुर्नुपर्ने जस्ता समस्याले गर्दा राइड सेयरिङ एपको प्रयोगमा बढोत्तरी भएको हो । यस्ता एपमार्फत् यात्रा गर्दा त्यो झनझटबाट मुक्त हुने हुँदा यसको लोकप्रियता बढेको पनि आम बुझाइ छ ।

अहिले नेपालमा २ करोड मानिस इन्टरनेटको पहुँचमा छन् । व्यापार व्यवसायदेखि यातायातको काम इन्टरनेटको माध्यम बाट गरिन्छ । हाल नेपालको आफ्नै धेरै एपहरु बनेका छन् । त्यसको आ–आफ्नै विशेषता छ ।

यस्ता सबै एप जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम)मा काम गर्छन् र मार्गहरू ट्रयाक गर्न, चालक र यात्रुहरू फेला पार्न सजिलो भएको छ । यातायात र प्रविधिलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ यी स्टार्टअपले नेपाललाई डिजिटल बनाउन योगदान गरेका छन् ।

नेपालमा भएका राइड सेयरिङ एपहरु

टुटल

यो नेपालको पहिलो आफ्नै राइड सेयरिङ एप हो । यसले गरेको कमाई नेपाल बाहिर जाँदैन । यातायातको क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा सन् २०१६ बाट सञ्चालन भएको हो । जसले अनेकन सुविधासहितको सेवा ल्याएको थियो ।

तर, पछि प्राविधिक समस्याका कारण केही समय चल्न सकेन तर अहिले यसले आफ्नो एप फिचरमा परिवर्तन गरी सञ्चालनमा ल्याएको छ ।

अहिले यसमा एक लाखभन्दा बढी राइडर छन् । यो अरु राइडभन्दा सस्तो पनि छ । जसले राइडरको कमिसन राख्दैन । त्यसैले यसको फेयर अरु राइडिङ सेयरिङ एपको भन्दा २० प्रतिशत कम छ ।

पठाओ

पठाओ राइड सेयरिङ एप पछिल्लो समय टुटल भन्दा धेरै लोकप्रिय बन्दै गएको छ । यसले यात्रुहरुलाई मात्र सुविधा दिइरहेको छैन लाखौं युवाहरुको जमातलाई रोजगारीको अवसर पनि प्रदान गर्दै आएको छ । तर, पछिल्लो समय पठाओले लाग्ने भन्दा धेरै रकम लिन थालेको भन्दै विवादमा परेको छ ।

पठाओले यात्रु र राइडरहरुका लागि बीमाको व्यवस्था समेत गरेको छ । हाल यसले २४ घण्टा ७ दिन नै सेवादिन थालेको छ । तर, यसले राइडरसँग २० प्रतिशत कमिसन लिने भएकाले भाडामा पनि महङ्गो परेको यात्रुहरु बताउँदै आएका छन् ।

इडी क्याब

यो राइड सेयरिङ ट्याक्सीको क्षेत्रमा राइड बुक गर्ने पहिलो एप हो । यो एप प्रयोग गर्दा ट्याक्सी बुक गर्न सजिलो र आफुले चाहेको ठाउमा बोलाउन र जान सकिन्छ ।

यो एपले २४ घण्टा ७ दिननै सेवा दिने गरेको छ । एपमा आफ्नो डेस्टीनेसन सेलेक्ट गरेपछि त्यहाँ लाग्ने भाडासहित उपलब्ध ट्याक्सीकोे लिस्ट आउँछ । जसलाई रेटिङ्ग अनुसार राखिएको हुन्छ । आफुले त्यही अनुसार राम्रा रेटिङ्ग भएका राइडहरु छान्न सकिन्छ ।

तर, यो एपले नगद कारोबारमात्र गर्छ । यसले १३ प्रतिशत भ्याटसहित १७ रुपैयाँ सर्भिस चार्ज लिने गरेको छ । यसमा रहेको मुख्य समस्या भनेको समयमा भेरिफिकेसन कोड उपलब्ध नहुनु हो । अहिले यो एप एन्ड्रोइड र आइएसओ दुबै भर्सनमा उपलब्ध छ ।

अन्भेर स्मार्ट ट्याक्सी

यो एपमा सजिलै ट्याक्सी बुक गर्न सकिन्छ । यो राइड सेयरिङ ट्याक्सीको क्षेत्रमा नयाँ सेवा हो । यसको मुख्य उद्देश्य ट्याक्सीमा यात्रा गर्दा देखिएको नकारात्मक पक्षहरुलाई हटाउनु हो ।

यसमा २०० वटाभन्दा धेरै ट्याक्सी समावेश छन् । यो एप राइडरका लागि भने एन्ड्रोइडमा मात्र उपलब्ध छ । यसले पनि २४ घण्टा ७ दिन नै सेवा दिन्छ । यसले मिटर वेसमा रहेर सेवा दिने गरेको छ । यसले हाल डिजिटल पेमेन्ट पनि सञ्चालनमा ल्याएको छ ।

यसको नराम्रो पक्ष भनेको ड्राभिङ्ग रुट राम्रोसँग देखाउँदैन । ट्याक्सी पनि भनेको बेला नपाइने यात्रुको गुनासो छन् ।

सुपर एप

यो राइड सेयरिङ एपले नेपालमा सेवा दिन थालेको १ वर्ष भयो । यसका दुई वटा एप छन्, जसमा एउटा राइडर एप र अर्को राइड सिकर एप हुन् । अरु सुविधा भने यसको अरुको जस्तै छ, डेस्टिनेसन छनोट गर्ने, राइडर खोज्ने र पेमेन्टको कुरा गर्ने ।

ट्याक्सीमाण्डू

यो एप काठमाडौंमा ट्याक्सीको यात्राका लागि सजिलो माध्यम बनेको छ । यो ट्याक्सी बुक गर्नको लागि प्रयोग हुने एक मोबाइल एप हो । स्मार्टफोन वा ट्याब्लेटबाट ट्याक्सी बुक गर्न सकिन्छ ।

हाल यो एपमा सयौं बढी ट्याक्सी उपलब्ध छन् । यो ट्याक्सी बुक गर्न र यात्रा गर्न धेरै सरल मानिन्छ ।

हुप राइडस्

यो नेपालमा सार्वजनिक भएको धेरै भएको छैन । यो एप कोरोना कालदेखि बन्द छ । लगानी बढाएर फेरि सञ्चालन गर्ने तयारी भइरहेको छ ।

इनड्राइभर

यो राइड सेयरिङ एप नेपालमा आएको धेरै भएको छैन् । यो एप विश्वको ३७ देशसहित ५०० भन्दा बढी सहरमा उपलब्ध छ ।

यो एपमा एउटा अरुभन्दा धेरै फरक विशेषता छ । यो एपमा आफुले कति भाडामा जाने हो त्यही अनुसार राइडरहरु छान्न सकिन्छ । यसमा न्युनतम भाडामात्र ताकिएको हुन्छ । त्यसमा यात्रु र राइडर आफैंले आफ्नो भाडा तोक्न सक्छन् ।

यसले कमिसन पनि लिँदैन । पछिल्लो समय यही कारण यो युवाको रोजाइमा पर्दै गएको छ । यो एपबाट आफु यात्रा गरिरहेको लोकेसन लगायत राइडरको सबै कुरा आफ्नो घरपरिवारलाई समेत पठाउन सकिन्छ ।

साहारा एप

काठमाडौंमा नयाँ राइड सेयरिङ एप साहाराले बाइक र क्याब दुवैका लागि राइडर्सबाट शुन्य प्रतिशत कमिसनमा सेवा दिँदै आएको छ । यो राइड सेयरिङ एपको रूपमा अझ राम्रो विकल्प बन्न खोजिरहेको छ ।

शून्य कमिसन हुँदा राइड फेयर कम हुन्छ । अहिले यो एपले आफ्ना यात्रुको सुरक्षाका लागि हेलमेटसमेत उपलब्ध गराउँदै आएको छ । मानिसले साहारा एप डाउनलोड गरेर प्रयोग गर्न सक्छन् र राइडरले साहारा पार्टनर एप डाउनलोड गर्न सक्छन् ।

मेट्रो अनलाइन ट्याक्सी

यो राइड सेयरिङ एप नेपालमा ट्याक्सी बुकिङ सेवा प्रदायक हो । यो एपले ट्याक्सी बुकिङका लागि आएको अनुरोध नजिकका राइडरहरूलाई पठाउँछ । सोही अनुसार यात्रुले आफ्नो राइडर छिटो र सजिलै आफ्नो लोकेसनमा पाउन सक्छन् ।

राइड सिकर यात्रुका लागि मेट्रो ट्याक्सी एक अन–डिमाण्ड कार सेवा हो जसले आईओएस र एन्ड्रोइड मार्फत राइडर अनुरोध गर्न सक्छन् ।

एन्ड्रोइड र आईओएस एपले राइडरहरूलाई तिनीहरूको फोनको जीपीएस क्षमता प्रयोग गरेर ड्राइभरसँग जोड्छ र दुबै पक्षलाई एकअर्काको स्थानका बारेमा जानकारी दिन्छ । त्यस्तै राइडर यात्रुको लोकेसनमा कहिले आइपुग्छन भन्ने कुरा पनि थाहा हुन्छ ।

सारथी

यो एप अफ लाइन क्याब राइड सेयरिङको रुपमा २०१७ देखि शुरु भएको हो । अहिले यो आईओएस र एन्ड्रोइन भर्सनमा उपलब्ध छन् । यसले हाल डिजिटल पेमेन्टको पनि व्यवस्था गरको छ । फिचर भने अरु राइड सेयरिङ एपहरुको जस्तै छन् ।

यो एपमा क्र्यास हुने, म्याप राम्रोसँग नदेखाउने र सर्च गर्न समस्या हुने लगायतका नकारात्मक पक्ष पनि रहेको छ ।

इजि ट्याक्सी नेपाल

यो एपलाई पछिल्लो समय ट्याक्सीसँग सम्बन्धित सबैभन्दा ठूलो ट्याक्सी बुकिङ सेवा प्रदायक मानिन्छ । इजी ट्याक्सी नेपालको सञ्जालमा ट्याक्सी चालक ५ हजार भन्दा धेरै छन् । जीपीएसको माध्यमले बुकिङ गर्ने यात्रुको सबैभन्दा नजिकको ट्याक्सी चालकलाई एपले सुचना दिन्छ ।

यो राइड सेयरिङले ट्याक्सी चालकको कमाई बढाउनुका साथै यात्रुलाई पनि कम फेयर, सजिलो र सरल यात्राका लागि ठूलो सहयोग पुर्याएको छ ।


क्लिकमान्डु