घरजग्गा व्यवसायमा मन्दी लागेपछि ३५ अर्ब बोकेर चीनको एक रियल स्टेट व्यवस्थापन कम्पनी बेपत्ता



एजेन्सी । एभरग्राण्ड नामक घर जग्गा कम्पनी वित्तीयरुपमा टाट पल्टेपछि संसारभरकै घरजग्गा कारोबारमा मन्दी आउने अनुमानहरु सार्वजनिक भइरहेको बेला चीनमा अर्को एक कम्पनीमा पनि त्यस्तै खालको समस्या देखा परेको छ । कोरोनाका कारण घर जग्गाको कारोबारमा संसारभर नै मन्दी देखा परेको छ ।

मानिसहरुमा पैसाको अभावका काराण सहजैरुपमा घर जग्गा जोड्न मानिस तयार भएका छैनन् । आर्थिक संकटको चपेटामा मानिसहरु परेका छन् । त्यसको प्रभाव दीर्घकालीन हुने जनाइएको छ ।

एकाध देशहरुमा बाहेक अधिकांश देशमा समस्या देखिएको छ । समस्याको कारणहरुको केन्द्रमा कोरोना र अन्य सहायक कारण पनि रहेका छन् ।

एभरग्राण्डका कारण केही बैंक तथा वित्तीय संस्था समेत चरम समस्यामा पर्ने अनुमान यह िबीचमा आएको छ । सो कम्पनीले निर्माण गरेका घरहरु यतिबेला भूतबंगलामा रुपान्तरण भएका छन् । कारोबार ठप्पप्राय छ । नागरिकले बढ्दो महंगो र आर्थिक स्रोतहरुमा देखिएको संकुचनका कारण आफूले खोजे अनुसारको घर पाउन पनि मुस्किल भएको छ ।

यही बीचमा चीनको अर्को एक कम्पनीका व्यवस्थापन मोटो रकम लिएर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।

बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घर जग्गा कम्पनीका व्यवस्थापन मोटो रकम लिएर बेपत्ता भएको विवरणहरुमा आधारित समाचार सार्वजनिक गरेको छ ।

समाचारहरुमा जनाइए अनुसार चिनियाँ घरजग्गा कम्पनीको ३१.३ करोड डलर लिएर लगानी व्यवस्थापन गर्ने संस्था र त्यसका व्यवस्थापन बेपत्ता भएका हुन् ।

चीनमा कुनै बेला ठूलो घरजग्गा कम्पनी मानिने ‘चाइना फोर्ट्यून ल्यान्ड डेभलप्मेन्ट’ले आफ्नो प्रबन्धक संस्था ३१ करोड ३० लाख डलरसहित बेपत्ता भएको जनाएको छ । सो सम्बन्धी विवरण उल्लेख गर्दै बीबीसीले समाचार विवरण बनाएको छ ।

सो कम्पनीका अनुसार ब्रिटिश भर्जिन आइल्यान्ड्समा दर्ता भएको चाइना क्रीएट क्यापिटल नामक संस्थाले त्यति रकम उसका लागि लगानी गरिदिनुपर्ने थियो । त्यससम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको थियो । चीनमा घर जग्गाको काम गर्ने नाम चलेका कम्पनी मध्ये फोर्ट्यून नै शीर्ष स्थानमा रहेको छ ।

फोर्ट्यून ल्यान्डले आफ्ना लगानीकर्तालाई सो विषयबारे बेइजिङ प्रहरीमा उजुरी दिइएको जानकारी दिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार बनाएका छन् ।

अर्बौँ डलर बराबरको ऋणपत्र समयमा भुक्तानी गर्न नसकेपछि सो कम्पनीले यही महिना कर्जा पुनर्संरचना योजना सार्वजनिक गरेको थियो ।

यसै साता शांघाई स्टक एक्सचेन्जमा पेस गरिएको एउटा दस्तावेजका अनुसार सन् २०१८ मा फोर्ट्यून ल्यान्डको वैदेशिक कारोबार हेर्ने एउटा एकाइले विङ्स्केङ्गो लिमिटेड नामक कम्पनीलाई लगानी प्रबन्ध गर्ने सेवा प्रदान गर्न आमन्त्रण गरिएको थियो ।

सो दस्तावेजमा कसरी विङ्स्केङ्गोको सल्लाहअनुसार फोर्ट्यून ल्यान्डले ३१.३ करोड डलर चाइना क्रियट क्यापिटललाई रकमान्तर गरिदिएको थियो भन्ने विस्तृत रूपमा खुलाइएको छ ।

फोर्ट्यून ल्यान्डका अनुसार सन् २०२२ को अन्त्यसम्म सहमति कायम रहँदासम्म सो लगानीबाट वार्षिक सातदेखि १० प्रतिशत ब्याज आउने अपेक्षा पनि गरिएको थियो ।

तर अहिले क्रियट क्यापिटलसँग आफूले सम्पर्क गर्न नसकेको फोर्ट्यून ल्यान्डको भनाइ छ । उसका अनुसार रकम हराएका कारण अहिले र भविष्यको लाभमा कस्तो प्रभाव पर्छ भन्ने थाहा पाउने कुनै उपाय उनीहरुसँग छैन ।

ऋण संकटका कारण अरू ठूला चिनियाँ घरजग्गा कम्पनीको जस्तै केही महिनायता फोर्ट्यून ल्यान्डको शेअर मूल्य पनि ह्वात्तै घटेको छ । आर्थिक उत्तरदायित्व वहन गर्न नसकेका कारण यो वर्ष शांघाई स्टक एक्सचेञ्जमा सूचीकृत उसको शेयरेको मूल्य ७० प्रतिशतभन्दा बढीले घटेको छ ।

यद्यपि ऋणदाताको एउटा समूहले आफ्नो कर्जा पुनर्संरचना योजनालाई मान्यता दिएको फोर्ट्यून ल्यान्डले यही महिनाको आरम्भमा बताएको थियो । उक्त सम्झौताले ऋणमा चुर्लुम्मै डुबेको उक्त कम्पनीलाई ठूलो राहत दिएको जनाइएको छ ।

घरजग्गा निर्माण तथा व्यापारको क्षेत्रमा अत्यधिक ऋण लिने प्रवृत्तिविरुद्ध सरकारले गत वर्ष नियन्त्रण गर्न थालेपछि अरू कम्पनीजस्तै ऋणको ठूलो भारी बोकेको फोर्ट्यून ल्यान्ड पनि ठूलो दबावमा परेको छ ।

फोर्ट्यून ल्यान्डल यो वर्ष अर्बौँ डलरको ऋणपत्र चुक्ता गर्न विफल भएको अमेरिकी सञ्चारमाध्यमहरुको दावी छ ।

संकटमा पर्ने ठूला कम्पनीमध्ये झन्डै ३०० अर्ब ऋण लिएको विशाल उद्योग एभरग्राण्ड पनि एक हो । सो कम्पनी भर्खरै केही विदेशी ऋणपत्रको ब्याज समयमा तिर्न असफल भएको छ ।

अफशोर ऋण १२ अर्ब लिएको प्रतिद्वन्द्वी कम्पनी काइसाले गत साता ४० करोड डलरको ऋणपत्र गत साता तिर्न सकेन । जसका कारण झनै संकट पैदा हुने जनाइएको छ । कोरोनाले पारेको असरको खास परिणाम देखिन थालेको छैन । त्यसको नतिजा देखिन थालेपछि संसारभरका ठूला भनिएका घर जग्गा कारोबार गर्ने कम्पनीको अवस्था प्रष्ट हुने जानकारहरुले बताएका छन् ।

संकट भित्रभित्रै भूसको आगो जसरी पुतपुताइरहेको छ, कुन दिन यो ज्वालामुखी बनेर विष्फोट हुनेवाला छ । त्यसदिन संसारको अर्थतन्त्रले कुन गति र मति समात्छ भन्ने बारेमा अहिल्यै केही भन्न सकिने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले विश्लेषण गरेका छन् । (बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुको सहयोगमा)


क्लिकमान्डु