मोटर बीमाको व्यवसाय बढ्दै, यस्तो छ ५ वर्षको तथ्यांक



काठमाडौं । मोटर बीमाको व्यवसाय बढ्दै गएको छ । पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकलाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुमा मोटर बीमाको व्यवसाय बढ्दै गएको देखिएको हो ।

सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो ।

मोटर बीमालाई सरकारले अनिवार्य गरेको छ । सरकारले मोटर बीमाअन्र्तगत तेस्रो पक्ष बीमालाई समेत अनिवार्य गरेको छ । अनिवार्य बीमा गर्नु पर्ने भएकाले अन्य बीमाको तुलनामा मोटर बीमा व्यवसाय बढ्दै गएको हो ।

पछिल्लो समय नेपालमा सवारीसाधनको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । त्यसकारणले गर्दा पनि बीमा बजारमा मोटर बीमाको अंश बढी हुनुलाई स्वाभाविकै मानिन्छ ।

आवश्यकताअनुसार बजारमा सवारी साधन किन्नेको संख्या बढ्दै गएको र ती साधनको बीमा अनिवार्य गर्नुपर्ने भएकाले मोटर बीमाको व्यवसाय बढ्दै गएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

अन्य बीमाको तुलनामा सबै निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा मोटर बीमाको हिस्सा राम्रै रहेको उनले बताए ।

‘कसैले अलिकति पैसा कमायो । उसलाई मोटरको आवश्यकता पर्छ । गाडी, मोटरसाइकल किन्छन्,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘जसले गर्दा बीमा गर्नुपरि हाल्यो । यो अनिवार्य पनि छ ।’

मोटर बीमा अन्र्तगत निर्जीवन बीमा कम्पनीहरुले मोटर साइकल तथा चारपाङ्ग्रे सवारी साधन पर्दछन् ।

पाँच वर्षको अवधिमा बीमा कम्पनीले ५१ अर्ब रुपैयाँ भन्दा बढी रकमको मात्रै मोटर बीमाको व्यवसाय गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट ५१ अर्ब १७ करोड ५१ लाख ७१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा निर्जीवन बीमा कम्पनीहले मोटर बीमाबाट ८ अर्ब १७ करोड ५ लाख ५७ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा आईपुग्दा सो रकम बढेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७४/७५ कम्पनीहरुको बीमा व्यवसायमा मोटर बीमाको मात्रै ९ अर्ब ५४ करोड ४ लाख ७७ हजार रुपैयाँको योगदान छ ।

त्यस पछिका आर्थिक वर्षमा कम्पनीहरुको मोटर बीमा व्यवसाय बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा यस्तो बीमाबाट कम्पनीहरुले १० अर्ब ८६ करोड २२ लाख २१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा बीमा कम्पनीहरुले मोटर बीमाबाट १० अर्ब ४५ करोड ३८ लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, गत आवमा कम्पनीहरुले मोटर बीमाबाट १२ अर्ब १४ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


बिजया बास्कोटा