चार महिनामा संघीय संसद भवनको भौतिक प्रगति ३ प्रतिशत



काठमाडौं । साढे तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संघीय संसद भवनको भौतिक प्रगति ४ महिनाको अवधिमा ३ प्रतिशत मात्रै भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको तथ्याङ्कअनुसार संसद भवनको निर्माण निकै सुस्त भएको देखिएको हो ।

गत साउनको अन्तसम्ममा उक्त संसद भवनको भौतिक प्रगति ३२ प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको थियो । करिब ४ महिना बितिसक्दा पनि हाल उक्त भवनको ३५ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ ।

सरकारले २०७६ असोज १६ गते सिंहदरबार परिसरको पुतली बगैंचामा संघीय संसद भवनको निर्माणको लागि टुन्डी–शेक जेभीसँग सम्झौता भएको थियो ।

उक्त कम्पनीले साढे तीन वर्षमा भौतिक कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, २ वर्ष बितिसक्दा हालसम्ममा उक्त भवनको ५० प्रतिशत पनि कार्य गर्न सकेको छैन ।

सरकारले १ सय ५१ रोपनी जग्गामा संघीय संसद भवनको निर्माण गरिरहेका छन् । सरकारले समयमै कार्य सम्पन्न गर्ने योजना बनाएता पनि अपेक्षित प्रगति हुन नसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी देवेन्द्र देव खनालले काम निकै ढिला हुने देखिएपछि कन्स्ट्रक्सनले पुनरावलोकन गरी जनशक्ति थप गरी समयमै कार्य सम्पन्न गर्ने भएको बताए ।

उनकाअनुसार कोरोनालयात विभिन्न कारणले कार्यमा निकै प्रभावित भएकाले आगामी दिनमा जनशक्ति थप गरेमा समयमै सकिनेछ ।

‘हालको अवस्था हेर्दा काम निर्माण कार्य निकै सुस्त रुपमा अगािड बढेको देखिन्छ,’ उनले भने, ‘कम्पनीले आगामी दिनमा समयमै कार्य सम्पन्नका लागि जनशक्ति थप गरी अगाडि बढ्नुपर्ने भएको छ ।’

पहिलो लहरको कोरोना महामारीमा निर्माण कार्य ठप्प भएको थियो । दोस्रो लहरको कोरोना महामारीमा थोरै निर्माण कार्य शुरु भएको थियो । कोभिड मात्रै नभएर अन्य विविध समस्याले गर्दा अपेक्षित काम हुन नसकेको कार्यालयको भनाइ छ ।

हालसम्म के–के निर्माण भए ?
सरकारले निर्माण गर्ने भनिएको उक्त भवनको भौतिक प्रगति ३५ प्रतिशत भएको छ । त्यसमा कमिटी बिल्डिङको ९५ प्रतिशत स्ट्रक्चरको कार्य सम्पन्न भएको छ । ब्रिक वर्कको ८५ प्रतिशत कार्य सम्पन्न भई प्लास्टरको कार्य ६५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

त्यसैगरी, भीभीआइपी बिल्डिङको दोस्रो तल्लाको स्ट्रक्चरको कार्य सम्पन्न भएको छ । कार्यालयका अनुसार हाल निर्माण भइरहेको दक्षिणतर्फको सेक्रेटेरियट बिल्डिङको दोस्रो तल्लाको स्ट्रक्चरको ५० प्रतिशत कार्य सम्पन्न भएको छ । त्यस्तै, उत्तरतर्फको सेक्रेटेरिट बिल्डिङको स्ट्रक्चर कार्य सम्पन्न भई प्लास्टर कार्य भइरहेको कार्यालयले जनाएको छ ।

हाल उक्त निर्माण भइरहेको पार्टी अफिस ब्लकको चौथो तल्लाको स्ट्रक्चरकोको ८० प्रतिशत कार्य सम्पन्न भएको र लाइब्रेरी ब्लकको फाउन्डेसनको कार्य सम्पन्न भई भुई तल्लाको ३५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

त्यसैगरी, पार्किङ ब्लकको पहिलो तल्लाको स्ट्रक्चर सम्पन्न भएको र एर्टिक तल्लाको कोलुम कार्य सम्पन्न भई बिमको ७० प्रतिशत कार्य भएको छ । साथै, सेन्ट्रल लबीको पहिलो तल्लाको स्ट्रक्चरको ८० प्रतिशत कार्य सम्पन्न भएको र क्यान्टिनको बेसमेन्टको ९५ प्रतिशत स्ट्रक्चरको कार्य सम्पन्न भएको र अन्डर ग्राउन्ड वाटर ट्याङकको स्ट्रक्चर सम्पन्न भएको छ ।

कार्यालयकाअनुसार अप्पर हाउसको पहिलो तल्लोको स्ट्रक्चर कार्य सम्पन्न गरी अर्टिकको सपोर्ट स्ट्रक्चरको कार्य शुरु भएको र भुई तल्लामा ब्रिकको कार्य भइरहेको छ ।


क्लिकमान्डु