उपत्यकामा १७ वर्षमा ७६ अपार्टमेन्टले पाए स्वीकृति



काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका भहुतल्ले शाखाले १७ वर्षको अवधिमा ७६ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दिएको छ । सरकारसँग देशभर कति अपार्टमेन्ट छ भन्ने यकिन तथ्याङ्क छैन । तर, विभागको बहुतल्ले शाखाबाट स्वीकृति प्राप्त अपार्टमेन्टको संख्या भने ७६ मात्रै रहेको छ ।

अपार्टमेन्ट अर्थात् बहुतल्ले आवास निर्माण गर्न शहरी विभागको बहुतल्ले शाखाबाट स्वीकृति लिनुपर्छ । उक्त शाखाले देशभरमा अपार्टमेन्ट निर्माणका लागि विभिन्न मापदण्ड तोकेको छ । अपार्टमेन्टको मापदण्डभित्र निर्माण गर्ने तयारी भए मात्रै शाखाले स्वीकृति दिन्छ । मापदण्ड नपुगेको खण्डमा संशोधन गर्न अनुरोध गर्ने गर्दछ ।

सरकारले बहुतल्ले भवन निर्माणका लागि छुट्टै मापदण्ड तोकेको छ । सोहीअनुसार निर्माण भएका बहुतल्ले आवास निर्माण गरेकालाई विभागले प्रमाणपत्र वितरण गर्दै आएका छन् ।

विभागले पहिलो पटक २०६१ साल चैतको ३१ गते पहिलो पटक अपार्टमेन्टको निर्माणका लागि इन्द्रेणी अपार्टमेन्ट भाटभटेनी स्वीकृत गरेका थिए । उक्त भाटभटेनी निर्माणका लागि २०६५ साल भदौ ५ गते संशोधन गरी स्वीकृत प्राप्त गरेका थिए । जसमा सो कम्पनीले ३२ युनिटको बेसमेन्टबाहेक ६ तल्लाको अपार्टमेन्टका लागि स्वीकृति दिएका थिए ।

सरकारले उपत्यकाभित्र मात्रै ७६ वटा अपार्टमेन्टको स्वीकृति दिएको तथ्याङ्कले देखाउँदछ । जसमा सबैभन्दा बढी २०६५ सालमा अपार्टमेन्टको स्वीकृति लिएको देखिन्छ । सो वर्ष उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै २३ वटा कम्पनीले अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएका थिए ।

त्यसैगरी, २०६६ सालमा ११ वटा, २०६७ साल र २०६४ मा ७÷७ वटा, २०६८ मा ८ वटा, २०७० मा ५ वटा, २०६९ मा ४ वटा, २०६२ मा ४ वटा, २०६२ मा ३ वटा, २०६१ र २०७५ मा १÷१ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएको शाखाको तथ्याङ्कले देखाउँदछ ।

सरकारले दिएको स्वीकृति प्राप्त कम्पनीहरूले ७६ वटा अपार्टमेन्टमा ७ हजार २२ युनिटको निर्माण हुने जनाएको छ । त्यसमा कम्पनीले शुरुवाती चरणमा ६ हजार ८ सय ७५ युनिट निर्माण भनिएकोमा पछि १ सय ३८ आवास युनिट थप भई ७ हजार बढी युनिट भएको शाखाका इन्जिनियर माधव कटुवालले बताए ।

उनकाअनुसार देशभर विभिन्न स्थानमा अपार्टमेन्ट निर्माण भएका छन् । त्यसमध्ये, शाखासँग स्वीकृति लिएर निर्माण कार्य अगाडि बढाएको अपार्टमेन्टको संख्या ७६ हो । शाखाले हालसम्ममा ३२ वटा अपार्टमेन्टले कान्ुनी प्रक्रिया पूरा गरी प्रमाणपत्र वितरण गरिसकेको छ । ‘भौतिक कार्य सम्पन्न गरेर कानुनी प्रक्रिया पूरा नगरेको धेरै अपार्टमेन्ट रहेको छ,’ उनले भने ।

त्यस्तै, निर्माण प्रक्रियामा रहेको ४ वटा अपार्टमेन्टको स्वीकृति रद्ध गरेको छ भने २ वटा अपार्टमेन्ट बिना स्वीकृति निर्माण भएको सरकारी तथ्याङ्क छ ।


क्लिकमान्डु