अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भन्योः वर्षदिनमै थपियो २९० गिगावाट नवीकरणीय ऊर्जा



एजेन्सी । संसारभर रहेको खनिज तेलको भण्डार क्रमशः कम हुँदै गएको विवरणहरु प्रकाशित भएको सन्दर्भमा नवीकरणीय ऊर्जाको विकास र बिस्तार पनि उत्तिकै गुणात्मक रुपमा भइरहेको छ ।

संसारभरनै नवीकरणीय ऊर्जाको विकासमा दिइएको जोड, गरिएको लगानी तथा मानिसहरुको चासोका कारणपनि नयाँ नयाँ कीर्तिमान कायम भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार नवीकरण ऊर्जाको वृद्धिमा सन् २०२१ मा नयाँ कीर्तिमान कायम भएको हो । जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापमानको वृद्धि भइरहेकाले पनि त्यसलाई कम गर्नका लागि नवीकरणीय ऊर्जानै महत्वपूर्ण रहेको निष्कर्षका साथ गुणात्मक विकास भइरहेको छ ।

‘नवीकरणीय ऊर्जामा खासगरी देखिने गरी नै प्रगति भएको छ, यसले आगामी दिनहरु अझै सुन्दर र ऐतिहासिक रेकर्ड कायम गर्ने खालका छन् भन्ने देखिएको छ।’ अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भनेको छ ।

यस्तै, ऊर्जा वाचडगका अनुसार यस वर्षमात्रै प्रणालीमा २९० गिगावाट बराबरको इनर्जी प्रणालीमा आएको छ । यो सबै नवीकरणीय ऊर्जाको स्रोतबाट थपिएको हो ।

त्यसबाट कूल २०० मिलियन बढी घरका लागि पर्याप्त बिजुली उपलब्ध गराउन सकिने क्षमता बराबरको ऊर्जा शक्ति प्राप्त भएको उक्त एजेन्सीको विवरणमा उल्लेख छ ।

अमेरिकाको कोलोराडोलाई पूर्णरुपमा कार्बन शुन्य बनाइएको छ । सबै क्षेत्रमा विद्युतीय ऊर्जाको प्रयोग गरिएको छ । त्यसमा पनि नवीकरणीय ऊर्जानै जोडिएको छ । यसबाट पनि के स्पष्ट भएको छ भने संसारभरनै कार्बनको उत्सर्जनलाई पूर्णरुपमा शून्यमा झार्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।

सन् २०२६ सम्म विश्वव्यापी रुपमा नवीकरणीय ऊर्जाको क्षमता २०२० बाट ६० प्रतिशतभन्दा बढी वृद्धि हुने लक्ष्य राखिएको छ । यो जैविक इन्धन र आणविक कार्यक्रमबाट उतपादन हुने ऊर्जाको क्षमता बराबर रहेको बताइएको छ ।

सन् २०५० सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ भइरहेको विश्वव्यापी अभियानलाई पनि यसले साथ र सहयोग प्रदान गर्ने विश्वास लिइएको छ ।

धेरै देशले तय गरेको नवीकरणीय ऊर्जाको लक्ष्यलाई पूरा गर्नका लागि पनि ठूला मुलुकको प्रभावकारी हस्तक्षेप जरुरी देखिन्छ ।

नवीकरणीय ऊर्जाको नेतृत्व भने हालसम्म चीनले गरिरहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि सो कुरालाई आत्मसात मात्रै गरेको छैन, स्वीकार नै गरेको छ ।

सन् २०२६ सम्म चीनमा मात्रै नवीकरणीय ऊर्जाको स्रोतबाट मात्रै १२०० गिगावाट बराबरको ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ । जुन पूर्वनिर्धारित लक्ष्य भन्दा ४ वर्षभन्दा पहिलेनै हासिल हुने छ ।

नवीकरणीय ऊर्जामा भारतले पनि उस्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यूरोप र संयुक्त राज्य अमेरिकामा पनि नवीकरणीय ऊर्जाको हिस्सामा गुणात्मक र रणनीतिक परिवर्तन हुने अपेक्षा गरिएको छ । नवीकरणीय ऊर्जाको विकास र विस्तारमा भइरहेको महत्वपूर्ण काम भावी विश्वका लागि पनि एउटा सुन्दर बिहानी बनेर उदाउने अपेक्षा बढ्दै गएको छ ।
चीन, भारत, यूरोप र संयुक्त राज्य अमेरिकाले मात्रै सहकार्य गर्ने हो भने विश्वव्यापी रुपमा ८० प्रतिशतभन्दा बढी योगदान गर्न सक्छ ।

श्वव्यापीरुपमा नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि यी ४ वटा पक्षले नै काम गर्न सक्छ । तर ती देशको हालको प्रयासमा जलवायु संकटसँग जुध्नेमात्रै केन्द्रित गरेका छन् ।

सन् २०५० सम्ममा नेट शुन्य उत्सर्जन हासिल गर्नका लागि हाल भइरहेको प्रयासमा थप गति दिनुपर्ने अवस्था छ । नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगलाई दोब्बर बनाउन सन् २०२६ भित्रै काम गरिसक्नुपर्नेछ ।

जैविक इन्धनको माग वार्षिक रुपमा ४ गुणाले बढ्दै गएको छ । यसलाई कम गर्नका लागि नवीकरणीय ऊर्जाको क्षमता ३ गुणाले बढाउनुपर्छ ।
गत महिना बेलायतको स्कटल्याण्डमा आयोजना गरिएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा समेत नवीकरणीय ऊर्जाको विकासमा नै जोड दिइएको छ ।

सम्मेलनमा विश्वका नेताहरु काममा छन् कि भाषणमा मात्रै छन् भन्ने कुरालाई ध्यान दिनुपर्नेमा वैज्ञानिकहरुले सन्देहका साथ प्रश्न गरेका थिए ।
विश्वव्यापी जलवायु परिवर्तनका सन्दर्भमा तापक्रमलाई १.५ डिग्रीभन्दामाथि बढ्न नदिने संकल्पलाई पनि नवीकरणीय ऊर्जाको स्रोतबाट नै परिपूर्ति गर्न सक्नुपर्छ । विश्वले हरेक वर्ष करिब २७ बिलियन मेट्रिक टनका दरले कार्बन उत्सर्जनलाई घटाउनुपर्नेछ ।

स्टकलयाण्डको सम्मेलनमा भारतले सन् २०३० सम्ममा ५०० गिगावाट बराबरको ऊर्जा उत्पादन गर्ने लक्ष्य तय गरिएको जानकारी दिएको थियो । कोइलाको प्रयोगलाई न्यून गर्न पनि नवीकरणीय एवम् हरित ऊर्जाको विकास नै आजको प्रमुख आवश्यकता रहेको भन्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सोही मर्मका साथ काम गर्न सबैलाई आग्रह समेत गरेको छ ।


क्लिकमान्डु