बिजनेश बढाउने होडबाजीले बैंकिङमा ‘स्ट्रेस’ देखिएको हो, सांग्रिला अब टिक्छ
दुई दशकअघि हिमालयन बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका सुयोग श्रेष्ठ अहिले सांग्रिला डेभलपमेन्टका बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) छन् । २ दशकमा हिमालयन बैंकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक तथा एस डेभलपमेन्ट बैंकका सीइओकारुपमा श्रेष्ठले काम गरेको अनुभव छ उनीसँग । ३ वर्षअघि सांग्रिलामा सीइओ बनेर आएपछि बैंकको व्यवसाय राम्रोसँग बढेको छ । विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैकर्स एशोसियनका उपाध्यक्ष समेत रहेका श्रेष्ठ प्रष्ट वक्ता मानिन्छन् । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले पारेको असर तथा सांग्रिला डेभलपमेन्ट बैंकको विषयमा केन्द्रित रहेर सीइओ श्रेष्ठसँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः
वित्तीय प्रणालीमा पैसाको अभाव छ । विकास बैंकहरुको स्थिती के छ ?
विकास बैंकमा समेत पैसाको अभाव छ । तरलताको अभाव वाणिज्य बैंकलाई हुने र विकास बैंकलाई नहुने भन्ने हुँदैन । हामीले पनि तरलताको अभाव भोगिरहेका छौं ।
कुल निक्षेपमा ११ प्रतिशत हिस्सामात्रै विकास बैंकले ओगटेका छन् । केही हिस्सा फाइनान्स कम्पनीको छ भने बाँकी हिस्सा वाणिज्य बैंकको हो । यसबीचमा विकास बैंकमा ऋणको बिस्तार बढेको देखिन्छ । विकास बैंकहरुले डिबेन्चर ल्याएका छन् । जसका कारण ऋण बिस्तार भएको हो । विकास बैंकहरुले डिबेन्चर पहिलो पटक ल्याउन पाएको हो ।
तर, ब्याजदर युद्धको शुरुवात वाणिज्य बैंकले गरे । विकास बैंक संयमित भएर बसेको कि पैसा भएर युद्ध नगरेको हो ?
यसमा हामीसँग पैसा भएर ब्याजदर नबढाएको भन्ने होइन । विकास बैंकसँग तरलताको अभाव छ । एउटा ध्रुवसत्य कुरा के हो भने ब्याजदर बढाएरमात्र वित्तीय प्रणालीमा निक्षेप बढ्दैन । एउटा संस्थामा रहेको निक्षेप अर्को संस्थामा जानेमात्रै हो । ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गरेर एउटा संस्थामा रहेको निक्षेप अर्कोमा तान्ने काम गर्नुभन्दा ऋण प्रवाह कम गरौं भन्ने हाम्रो धारणा रह्यो ।
केहीदिन अगाडि विकास बैंकले दिनेभन्दा बढी ब्याजदर वाणिज्य बैंकले दिएका थिए । हाम्रा निक्षेपकर्ताले समेत वाणिज्य बैंकले तपाईंहरुको भन्दा ब्याजदर दिन थाल्यो अब विकास बैंकमा किन राख्ने भन्ने प्रश्न गरेका थिए । पछिल्लो समय राष्ट्र बैंकले खेलेको भूमिकाले भने राम्रो गरेको छ । राष्ट्र बैंकको हस्तक्षेपले बजारलाई संयमित बनाउन मद्दत पुगेको छ ।
वाणिज्य बैंकमा पनि काम गरेको समेत अनुभव छ । विकास बैंकको सीइओको हिसाबले हेर्दा अहिले वाणिज्य बैंकले के गल्ती गरेजस्तो लाग्छ ?
पछिल्लो ५/६ वर्षमा बैंकिङमा धेरै परिवर्तन आएको छ । बैंकिङ बेग्लै हिसाबले चल्न थालेको छ । जुन त्योभन्दा अगाडि थिएन । नेपालमा जुनबेला वाणिज्य बैंकको संख्या कम थियो त्यो बेला अस्वस्थ प्रतिस्पर्धा थिएन । त्यो बेला प्रतिस्पर्धामात्रै थियो । बैंकहरु एउटा प्यारामिटरमा बसेर काम गरेका थिए ।
सरकारी निकायलगायत धेरै संस्थाहरुले हाम्रोमा निक्षेप राख्न निषेधजस्तो छ । त्यो निषेध हटेमा विकास बैंकमा केही निक्षेप आउने थियो । त्यतिठूलो संस्था चलाउने व्यक्तिहरुले आफ्नो जोखिम व्यवस्थापन गरेर विकास बैंकमा निक्षेप दिनसक्नु हुन्थ्यो ।
पछिल्लो ५ वर्षमा बैंकमा बेग्लै खालको इनर्जी आएको छ । पहिला सानो ऋण विकास बैंकले मात्र दिने चलन थियो । अहिले सानो ऋणसमेत वाणिज्य बैंकले दिएका छन् । वाणिज्य बैंकहरु सानो ठाउँमा गएका छन् । यसले गर्दा वाणिज्य बैंक र विकास बैंकमा फरक देखिएको छैन । राष्ट्र बैंकले ४ गुणासम्म चुक्ता पूँजी बढायो । त्यसपछि बैंकका सेयरधनीलाई ५० प्रतिशत प्रतिफल पाएको हो भने सोही अनुपातमा पाउनुपर्छ भन्ने मानसिकताले काम गर्यो । विश्वव्यापीरुपमा यती ठूलो चुक्ता पूँजी बढेपछि सो अनुसार यतिठूलो व्यवसाय बढाएर रिर्टनमा फोकस गर्नु त्यतिराम्रो मानिदैन ।
बैंकलाई चुक्ता पूँजीअनुसार व्यवसाय बढाउनका लागि दबाब भयो । बढेको पूँजीमा पहिलेको अनुपातमा रिर्टन दिनका लागि दबाब आयो । त्यसको प्रभाव अहिले देखिएको हो । आजका दिनमा सांग्रिला डेभलपमेन्ट बैंकले ४३ अर्ब कर्जा दिएको छ ।
५ वर्ष अगाडि कल्पना गर्नुहोस् त विकास बैंकले यो आकारको ऋण दिन सक्ने थियो । त्यो बेला कतिवटा वाणिज्य बैंकले यो आकारको ऋण दिए होलान् ? आजको ४३ अर्बको ऋण दिए पनि यो कम भयो भन्ने महशुस भएको छ । केही विकास बैंकको वाणिज्य बैंकलाई नै चुनौती दिने खालको व्यवसाय गरेका छन् ।
व्यवसाय बढाउने बिष्फोटले बैंकिङमा स्ट्रेस देखिएको हो । यसलाई बैंकिङमा राखेर मात्र सीमित गर्नु हुँदैन । देशको अर्थतन्त्र हेर्ने हो कोभिडपछि पनि प्रभाव परेको हो । अर्थतन्त्रका अरु सूचक हेर्दा तरलतालाई सहज बनाउने खालको पनि छैन । जसले गर्दा अहिलेको समस्या आएको हो ।
वाणिज्य बैंकले निक्षेपकर्तालाई दिने र विकास बैंकले ब्याजदरमा ०.२५ प्रतिशतको अन्तर छ । नन फन्डेड व्यवसाय विकास बैंकलाई गर्न नियमले दिएको छैन । यस्तोमा विकास बैंकलाई व्यवसाय गर्न कतिको कठिन छ ?
पहिलाको जस्तो वाणिज्य बैंक र विकास बैंकले गर्ने काममा फरक छैन । केहीमात्र वाणिज्य बैंक र विकास बैंकको काममा फरक छ । बाफिया र राष्ट्र बैंकको नियमअनुसार विकास बैंकले ट्रेड फाइनान्स गर्न नपाउने तथा केही ग्यारेन्टी गर्न नपाउने छ । जसले गर्दा हामीलाई असजिलो भएको छ ।
हामीले एशोसियनको तर्फबाट पनि नियामक निकायलाई भनिराखेका छौं । अहिले बैंकिङमा निकै प्रतिस्पर्धा छ । हाम्रो बैंकभित्रै पनि शाखा प्रवन्धकसँग कुरा हुँदा न्यूरोडको ब्रान्च म्यानेजरले कुरा गर्दा त्यहाँ भएजति सबैको शाखा छ त्यसैले बिजनेश बढाउन गार्हो छ भन्ने कुरा आएको हुन्छ ।
अब बैंकले आफ्नो ट्र्याक समाएर गति लिन थालेको छ । कठिन दिनमा काम गर्न सकियो भने अबका दिनमा झन् सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । हाम्रा प्रमोटरहरुमा पनि अब बैंक टिकाउन सकिन्छ भन्ने आत्मविश्वास स्थापित भइसकेको छ । सञ्चालकज्यूहरुको सहयोग र कर्मचारीको मिहेनतले यो सम्भव भएको हो ।
त्यसलाई अर्को हिसाबले हेर्दा न्यूरोडमा भएजति बैंक तथा वित्तीय संस्थाको शाखा जानुको पछाडि व्यवसायको सम्भावना देखेको कारण गएको हो । व्यवसायको सम्भावना देखेपछि व्यवसाय हुने कुरा हेर्नुपर्छ । विश्वमा कुनैपनि कुरा सजिलोसँग पाउने कुरा हुँदैन । हामीलाई ल्याएर कसैले दिएको हुँदैन । हिजोको दिनमा ८० वटा जति विकास बैंक थिए । अहिले १७ वटा विकास बैंकमा ८ वटा जति राष्ट्रिय स्तरका विकास बैंक छन् । त्यसले गर्दा केही सहज पनि भएको छ ।
प्रतिस्पर्धा गर्नुपर्ने वाणिज्य बैंकसँग छ । तर, सो अनुसारको काम गर्न नपाउदा असजिलो भने हुन्छ । देशमा राम्रोसँग पूर्वाधारको काम हुने हो भने यो स्थितीमा विकास बैंकले राम्रो काम गर्न नसक्ने भन्ने होइन । विकास बैंकलाई हेर्ने दृष्टिकोणमा परिवर्तनसँगै केही नीति परिवर्तन भएको छ ।
अहिले नेपाल टेलिकमको सानो मात्राको भएपनि निक्षेप आउन थालेको छ । अहिले नेटवर्कको हिसाबले कुरा गर्दा कतिपय वाणिज्य बैंकको भन्दा केही विकास बैंकको शाखा बढी छ । वाणिज्य बैंकले ठूलो आकारको काम गरेका हुन्छन् भने विकास बैंकले सानो आकारमा गरेर ठूलो बनाउनुपर्ने हुन्छ । हाम्रो नै अहिले १०४ वटा शाखा छन् । जुन केही वाणिज्य बैंकको भन्दा बढी हो । विकास बैंकका लागि बजार रहेको छ । त्यसका लागि कसरी सक्षम बनाउने भन्नेमा हामीमा भर पर्छ ।
८० को हाराहारीमा रहेको विकास बैंकको संख्या १७ वटामा झरेको छ । वित्त र मौद्रिक नीतिले विकास बैंकलाई वाणिज्य बैंकमा मर्ज तथा एक्विजेशन गर्दा हुने छुट हटाएको छ । अब विकास बैंकको संख्या घट्ने कत्तिको सम्भावना छ ?
अहिले १७ वटा विकास बैंक छन् । वाणिज्य बैंकहरु गाउँमा जति पुगेपनि विकास बैंकले गर्न सक्ने केही काम वाणिज्य बैंकलाई गर्न कठिन छ । एउटै ग्राहकसँग व्यवसाय गर्न गएपनि जति सहज तरिकाले विकास बैंकमा तल्लो तहको वर्गले काम गर्न सहज मान्छन् वाणिज्य बैंकले मान्दैनन् । त्यो हुँदा विकास बैंकको नेपालमा औचित्य अझैपनि छ । अहिलेको सरकारको वित्त र राष्ट्र बैंकको मौद्रिक नीतिले पनि वाणिज्य बैंकमा विकास बैंक मर्ज तथा एक्विजेशन भए करलगायतका नियामकीय छुटको सुविधा नपाउने व्यवस्था गरेको छ । राज्यले पनि अब विकास बैंक चाहिन्छ भनेर सो नीति ल्याएको होला । जतिपनि विकास बैंक हामीहरु छौं । त्यहा प्रतिस्पर्धा छ ।
समयअनुसार ग्रोथ गर्न नसके फोर्स मर्जरमा जानुपर्ने थियो । त्यसैले हामीले बैंकलाई समयअनुसार आफूलाई अगाडि बढाएको हो ।
अब यति विकास बैंक चाहिन्छ र हामीहरु मिलेर प्रतिस्पर्धा गरेर काम गर्नुपर्छ भावना हामीमा छ । भोलिका दिनमा राज्यले सहुलियतको नीति लिएन भन्दैमा विकास बैंक वाणिज्य बैंकमा मर्ज तथा एक्विजेशन नहुने भन्ने हुँदैन । आवश्यता भएमा विकास बैंकहरु वाणिज्य बैंकमा गाभिन सक्ने सम्भावना हुन्छ । हिँजोका दिनमा सुविधा नपाए पनि मर्ज भएको थियो ।
विकास बैंकलाई टिकाउनका लागि नियामकीय सुविधा के चाहिएको हो ?
मान्छेको स्वभाविकरुपमै असन्तोषी हुन्छ । हामीलाई जति भएपनि पुग्दैन । के–के चाहिन्छ भन्न थाल्ने हो भने हामीलाई जेपनि चाहिनसक्छ । हामीलाई शुरुवात गर्नका लागि केही व्यवस्था परिवर्तन गर्नुपर्छ ।
सांग्रिलाको कुरा गर्दा ३ अर्ब पूँजी छ । केही विकास बैंकको त्योभन्दा बढी छ । हिँजोका दिनमा योभन्दा कम पूँजी भएपनि वाणिज्य बैंकले गरेका कामहरु अहिले विकास बैंकले गर्न पाएका छैनन् । शुरुवातका रुपमा लोकल एलसीबाट काम गर्न दिए हुने थियो । हामीले इन्टरनेशनल एलसीको कारोबार पनि माग गरेका छैनौं । लोकल एलसीको कारोबार गर्न पायौं भने हामीले सिक्न पाउने थियौं ।
भोलिका दिनमा इन्टरनेशनल एलसीको कारोबार समेत गर्न सक्ने हाम्रो क्षमता हुन्छ । त्यो बेला विकास बैंकका कर्मचारीलाई दक्ष बनाउन अहिले लोकल एलसी कारोबार गर्न दिए सजिलो हुने थियो ।
सरकारी निकायलगायत धेरै संस्थाहरुले हाम्रोमा निक्षेप राख्न निषेधजस्तो छ । ती संस्थाले बनाएको नियमको कारण विकास बैंकमा निक्षेप नआउने अवस्था छ । त्यो निषेध हटेमा विकास बैंकमा केही निक्षेप आउने थियो । त्यतिठूलो संस्था चलाउने व्यक्तिहरुले आफ्नो जोखिम व्यवस्थापन गरेर विकास बैंकमा निक्षेप दिनसक्नु हुन्थ्यो ।
आजका दिनमा सबै विकास बैंक वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्षम नहोला । तर, केही विकास बैंक त सक्षम छन् । संस्थाहरुलाई कुन क्षेत्रमा निक्षेप राख्ने भन्ने स्वतन्त्रता दिनुपर्छ भन्ने हो ।
आजका दिनमा जतिपनि वित्तीय संस्था छन् राष्ट्र बैंकको नियमले गर्दा जनताको पैसा सुरक्षित छ । हिँजका दिनमा केही विकास बैंक बिग्रेका थिए । अहिले त्यो अवस्था छैन । अहिले कम्पनीहरुको हकमा तेस्रो पक्ष धितो लिन नपाउने व्यवस्था छ । हेर्दा यो सामान्य विषय देखिए पनि विकास बैंकले स्टकको धितोमा ऋण दिन पाउने व्यवस्था छैन । वाणिज्य बैंकको हकमा भने कम्पनीले स्टकलाई धितो राखेर समेत ऋण दिन सक्छन् । यस्ता नीति परिवर्तन भएमा हामीलाई भोलिका दिनमा काम गर्न सजिलो हुने छ ।
अब सांग्रिला विकास बैंकको कुरा गरौं । ४ वर्षपछि दोहोरो अंकको लाभांश सेयरधनीलाई दिन सफल हुनु भएको छ । कोभिडका बेला यो कसरी सम्भव भयो ?
कसरी सम्भव भयो भन्नुभयो यो सम्भव गर्न सक्ने नै कुरा थियो । कुनै अर्को व्यक्तिले गर्न सक्ने काम हामीले किन सक्दैनौं भन्ने हुँदैन । पछिल्ला ३ वर्षमा बैंकको व्यवस्थापनसमेत परिवर्तन भयो । सांग्रिला क्षेत्रीयस्तरबाट उठेर काठमाडौं आएपनि प्रगति गर्न सकेको थिएन । यसमा विभिन्न कारण थिए । यसबीचमा केही ट्रान्जिसन पिरियडजस्तो पनि भयो । हामीले त्यो बेला सेयरधनीलाई सोचेअनुसारको प्रतिफल दिन सकेनौं तथा व्यवसाय पनि भएन । त्यसले हामीलाई धेरै कुरा सिकायो । त्यसले हामीलाई बलियो हुन सिकायो । त्यो बेला हाम्रो संस्थालाई पुनरसंरचना गर्न सकियो ।
भोलिका दिनमा अवस्था सामान्य भएमा सेयरधनीलाई दोहोरो अंकको लाभांश दिनका लागि कुनै समस्या हुँदैन । यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलताको अभाव छ । तरलता अभावका कारण सोचेअनुसारको हाम्रो व्यवसाय बिस्तार हुन सकेको छैन ।
४ वर्षमा दोहोरो अंकको लाभांश दिन सफल हुनुको पछाडि मेरो टिमवर्क सबैलाई धन्यवाद् दिनुपर्छ । यसबाहेक सञ्चालक समितिका सदस्यले पनि निकै राम्रो सहयोग गर्नु भएको छ । बैंकमा राम्रो टीमवर्क बनेको छ । टीमभन्दा हामीले व्यवस्थापनको मात्र कुरा गर्छौैं । बैंकका सहयोगी कर्मचारीदेखि लिएर बोर्ड मेम्बर सबैको सहयोगले प्रतिफल दिन सम्भव भएको हो । यसका लागि धेरै हामीले योजना बनाउनु पर्यो ।
अब बैंकले आफ्नो ट्र्याक समाएर गति लिन थालेको छ । कठिन दिनमा काम गर्न सकियो भने अबका दिनमा झन् सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । हाम्रा प्रमोटरहरुमा पनि अब बैंक टिकाउन सकिन्छ भन्ने आत्मविश्वास स्थापित भइसकेको छ । सञ्चालकज्यूहरुको सहयोग र कर्मचारीको मिहेनतले यो सम्भव भएको हो ।
पछिल्लो डेढवर्षको तथ्यांक हेर्दा व्यवसायमा आक्रामक भएको देखिन्छ । किन आक्रामक हुनु भएको ?
तपाईंले आक्रामक भएको भन्नुभयो । हामी त्यसरी आक्रामक नै भएको होइन । योजना अनुसारनै बैंकले काम गरेको हो । राष्ट्रियस्तरको विकास बैंक भएपनि बैंकले सो अनुसारको व्यवसाय बढाउन सकेको थिएन ।
आजका दिनमा बैंकका १०४ वटा शाखा छन् । १०४ वटा शाखामा पछिल्लो डेढवर्षमा बढेको व्यवसाय हेर्दा खासै ठूलो देखिँदैन । बैंकले कर्मचारीलाई पेलेर होइन, प्रोत्साहन गरेर काम लिएको छ । म आएको बेला बैंकमा केही प्रणाली बनेको थिएन । आजका दिनमा १५ दिनसम्म विदामा बस्दा प्रणालीले काम गर्ने भएको छ ।
व्यवसायमा नयाँ आइडियाले काम गरेका छौं । हामीले विगतमा परम्परागतरुपमा काम गरेका थियौं । बैैंकका हरेक कर्मचारीलाई हामीले गर्नुपर्छ भन्ने भावना विकास भएको छ । हामीले अहिलेपनि नगर्दा आफूले आफूलाई हेर्दा कहाँ छौं भन्ने अवस्था थियो ।
हामीहरु बिस्तारै आफ्नो बाटोमा हिँडेका छौं । अरु विकास बैंकसँग तुलना गर्दा केही सूचकमा हामी अगाडि छौं, केहीमा पछाडि छौं । यो एउटा प्रोसेस हो । यसलाई हामीले निरन्तरता दिन सकेमा व्यवसायलाई अगाडि बढाउन सम्भव छ । हामीले समयअनुसार ग्रोथ गर्न नसकेमा फोर्स मर्जरमा जानुपर्ने थियो । हामीले समयअनुसार आफूलाई अगाडि बढाएको हो ।
तपाईंले व्यवस्थापकीय नेतृत्व सम्हालेपछि तथ्यांकमा भन्नुपर्दा व्यवसायमा कस्तो परिवर्तन भयो ?
म आउँदा बैंकमा १९ अर्ब हाराहारीमा निक्षेप र कर्जा १५ अर्बको हाराहारीमा थियो । आजका दिनमा ४३ अर्बको ऋणको आकार भएको छ । म आएको ३ वर्ष भयो । ३ वर्षको हिसाबले त्यतिठूलो होइन । पछिल्लो डेढवर्षमा यो ग्रोथ भएको हो । अहिले बैंकका सेयरधनीले अब यो व्यवसायले चल्न सकिन्छ भन्न थाल्नुभएको छ ।
ब्यालेन्ससिट साइजको कुरा गर्दा त्यो बेला हामी २१ अर्बमा थियौं अहिले ५० अर्बमा पुगेका छौं । चुक्ता पूँजी साढे २ अर्बबाट ३ अर्ब पुगेको छ । अहिले डिबेन्चर ल्याएका छौं । शाखाको कुरा गर्दा ८६ बाट १०४ मा पुगेको छ । अझै शाखा संख्या बढ्ने छ । कर्मचारी ५ सयबाट ८ सयभन्दा बढी पुगेका छन् । यो फिगरले हेर्दा सांग्रिला आक्रामक ढंगले अगाडि बढ्योजस्तो अनुभव अरुलाई भएको हुनसक्छ । तर, हामी योजना बनाएर अगाडि बढेका छौं ।
व्यवसाय बिस्तारबाहेक सांग्रिलामा अरु के कुरामा परिवर्तन भएको छ ?
भोलिका दिनमा कर्मचारीको संख्या १ हजार पुर्याउने शाखा १५० पुर्याउने मात्र भन्दा यसले समस्या निम्त्याउने हुन्छ । कुनैपनि काम गर्दा अरुले राम्रो काम गरेको भने त्यो बेला सन्तुष्ट हुने हो । यो सबै गर्नका लागि हामीले टीम बनाएका छौं ।
ग्रोथसँगै प्लान पनि हुनुपर्छ । ग्रोथलाई चेक गर्नका लागि सिस्टम हुनुपर्यो । पहिला हामीकहाँ क्रेडिट एडमिन डिपार्टमेन्ट सानो थियो । अहिले हामीले यो विभागलाई केन्द्रिकरण गरेका छौं । केन्द्रिकरण गर्दा यसको धेरै फाइदा हुन्छ । शाखाअनुसार क्रेडिटको नीति फरक हुने हुँदा समस्या आउने अवस्था थियो । अहिले क्रेडिटको एडमिनको नीति एउटै छ । हिँजोका दिनमा क्रेडिट एडमिनमा लिगल डिपार्टमेन्ट थिएन । अहिले हामीले लिगल डिमार्टमेन्ट खडा गरेका छौं । आन्तरिक लेखापरीक्षण विभाग नै थिएन ।
आन्तरिक लेखापरिक्षणमा समेत बाह्य स्रोतमा भर पर्नुपर्ने थियो । आन्तरिकरुपमा लेखापरीक्षण हुँदा धेरै खाले फाइदा हुन्छ । थाहा नपाएर नै हामीले दक्ष जनशक्तिको विकास गरिरहेका हुन्छौं । हरेक विभागमा चाहिने जनशक्ति हामीले सिकाउन सक्छौं ।
१०४ को शाखा भोलिका दिनमा बढ्ने छ । यसलाई एकै ठाउँबाट मनिटर गर्नका लागि एउटा बलियो टीम छ । हामीले नयाँ युवा टीम ल्याएर ग्रुम गरेका छौं । नयाँ सदस्यलाई ३ वर्षपछि ब्रान्च म्यानेजर बनाएर सकिने गरेर तालिम दिएका छौं । हामीले आफ्नो म्यानपावर आफैं विकास गर्न खोजेका छौं । हामीले आन्तरिकरुपमै ब्रान्च म्यानेजर विकास गर्न सक्छौं । अटोमेशन प्रोसेस अहिले गइरहेको छ । मेरो कार्यकाल अब १ वर्षमात्रै बाँकी हो । म नभए पनि प्रणालीले सबै काम गरोस् ।