धितोपत्र बोर्ड अध्यक्षको आवेदन पुनः खुल्ने, मन्त्रिपरिषद्ले छनोट समिति बनाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन पुनः खुल्ने भएको छ । धितोपत्र बोर्डको अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने समिति नयाँ गठन हुने र सो समितिले पुनः आवेदन माग्ने छ ।

अहिले धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थमन्त्रालयले बनाएको हो । धितोपत्र बोर्ड ऐनमा अध्यक्ष छनोट गर्नको लागि राष्ट्रिय योजना आयोगको पूँजीबजार हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति गठन गर्ने भनेको छ ।

अर्थमन्त्रालयले योजना आयोगलाई धितोपत्र हेर्ने सदस्यलाई संयोजक सिफारिस गर्न पत्र लेखेको थियो । आयोगमा उपाध्यक्ष या सदस्य जसले पनि धितोपत्र हेर्न सक्ने व्यवस्था छ ।

अर्थमन्त्रालयको नेतृत्व गरेको माओवादीले पहिलाजस्तै आयोगका सदस्य रामकुमार फ्युयाल नै संयोजक हुने र छनोट समितिमा माओवादीको हालीमुहाली हुने अनुमान गरेको थियो । तर,आयोगमा अहिले धितोपत्र हेर्ने जिम्मा उपाध्यक्ष डा विश्व पौडेलसँग छ । सो हुँदा छनोट समितिको संयोजक पौडेल बने । छनोट समितिले धितोपत्र बोर्ड अध्यक्ष बन्नको लागि आवश्यक योग्यता भएका व्यक्तिलाई आवेदन दिनको लागि आह्वान गरेको थियो । सो अनुसार १२ जना व्यक्तिले आवेदन दिएका थिए ।

तर,छनोट समिति अर्थमन्त्रालयले गठन गर्ने कि सरकारले गठन गर्ने भन्ने विवाद भएपछि अहिले परेका आवेदनको विषयमा कुनैपनि निर्णय नहुँने भएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्द्को बैठकले छनोट समिति गठन गर्ने छ । सो अनुसार आयोग उपाध्यक्ष पौडेल अर्थमन्त्रालयका सचिव सहित धितोपत्र क्षेत्रको विज्ञ रहेका व्यक्तिको सदस्यमा समिति गठन हुने र नयाँ प्रक्रियाबाट बोर्ड अध्यक्षको प्रक्रिया अगाडि बढ्ने छ ।

धितोपत्र बोर्ड अध्यक्षको लागि सरकारमा रहेका तीनदलबीच विवाद छ । सरकारको नेतृत्व गरेको कांग्रेस तथा माओवादी तथा माधव नेपालको पार्टी नेकपा समाजवादीबीच बोर्ड अध्यक्ष पद आफूले पाउनुपर्ने भन्नेमा विवाद छ ।

केपी शर्मा ओलीको सरकारले ४ वर्ष कार्यकालको लागि भिष्मराज ढुंगनालाई अध्यक्षमा नियुक्त गरेका थियो । अध्यक्षमा नियुक्त भएको २ वर्षपछि ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा खरिद गरेको भेटिएपछि उनको पद गएको थियो ।


क्लिकमान्डु