योजना लगानी व्यवस्थापनका लागि प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग ‘दि पिंक रिबन क्याम्पेन’सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ ।

सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा. सुजिता हिराचनले हस्ताक्षर गरेका छन् ।

नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सर सम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरनाफामुखी संस्था हो ।

यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ मेडिकल क्याम्प’, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सम्झौताअन्तर्गत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापनगरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ ।

प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउने उद्देश्यका साथ शुरु गरिएको योजना हो ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट साथै न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् ।

यो योजनाका विशेषतामा न्यूनतम लगानीको अवधि १ वर्ष, हर्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) १ प्रतिशत ( ५० प्रतिशत छुट पछि ), मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत, लक इन अवधि १ वर्ष, लक इन अवधि अगावै योजना बन्द शुल्क ३ प्रतिशत रहेको छ ।

क्यापिटलले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई आर्थिक सहयोग गर्नेछ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्ने बताएको छ ।

सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु