लक्ष्यभन्दा १० अर्ब बढी राजस्व संकलन, आन्तरिकतर्फ भ्याटको पूरा भएन



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा राजस्व संकलन लक्ष्यभन्दा १० अर्बले बढी भएको छ ।

अर्थमन्त्रालयका अनुसार कात्तिक ३० गतेसम्ममा भन्सार महशुल, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, आयकर र गैर कर लगायतवापत ३ खर्ब ३४ अर्ब करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको हो । मन्त्रालयले कात्तिक महिनाको अन्त्यसम्ममा ३ खर्ब २४ अर्ब ५७ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षको अन्त्यसम्ममा राजस्ववापत ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

३ क्षेत्रमा लक्ष्यभन्दा बढी संकलन

मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र आयकर तर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करवापत १ खर्ब ६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो भने २ अर्ब ५४ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । उक्त अवधिमा १ खर्ब २ अर्ब ६० करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै अन्तःशूल्कवापत कात्तिकसम्ममा ५२ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । उक्त अवधिमा सो शीर्षकमा ५८ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जानकारी दिएको छ । आयकरतर्फ भने ५८ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । उक्त शीर्षकमा ५५ अर्ब ९१ करोड ४१ लाख रपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

यी क्षेत्रमा लक्ष्यभन्दा कम

भन्सार महशुल, शिक्षा सेवा शुल्क र गैर करमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको देखिएको छ । भन्सार महशुलवापत ८५ अर्ब ८३ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८५ अर्ब ३८ करोड २३ लाख रुपैयाँ संकलन भएको छ ।

यो लक्ष्यभन्दा ४५ करोड ४१ लाख रुपैयाँ कम हो । त्यसैगरी शिक्षा सेवा शुल्कवापत लक्ष्यभन्दा १८ करोड ४० लाख रुपैयाँ कम राजस्व संकलन भएको छ । उक्त शीर्षकमा ३६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १७ करोड ९८ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

गैर करवापत ३० अर्ब १८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त अवधिमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको तथ्यांकले देखाएको छ । कात्तिक मसान्तसम्ममा गैर करवापत २८ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

समग्रमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भएपनि आन्तरिकतर्फ भ्याट लक्ष्य भने पूरा भएको देखिएको छैन ।

उत्पादन, विक्री, सेवाबापत आन्तरिक तर्फ भ्याट मार्फत ४० अर्ब ८९ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको भएपनि ५ अर्ब कम संकलन भएको छ । उक्त अवधिमा उत्पादन, विक्री, सेवा वापत ३५ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

तर, उक्त शीर्षकको पैठारीमा भने लक्ष्यभन्दा राजस्व संकलन वृद्धि भएको छ । मूल्य अभिवृद्धि कर लाग्ने पैठारीवापत ६६ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । लक्ष्य भने ५९ अर्ब १७ करोड १६ लाख रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु