हुण्डीको कारोबार बढ्दा घट्यो विप्रेषण आप्रवाह, वैदेशिक रोजगारीमा जाने बढे



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले घटेर २ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.२६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

पछिल्लो समयमा हुण्डीको कारोबार मौलाएपछि विप्रेषण आप्रवाह घटेको छ । कोरोना महामारी न्यून भएसँगै आयात, निर्यात बढ्दा हुण्डीको कारोबार पनि मौलाएको छ । यसले बैंकिङ प्रणालीबाट विप्रेषण आउने क्रम घटेको छ । त्यसको असर विप्रेषणमा परेको छ । पछिल्लो समयमा हुण्डीको कारोबार गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।


क्लिकमान्डु