शोधनान्तर स्थिति ७६ अर्ब १३ करोडले घाटामा



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

असोज मसान्तसम्म पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रहेको थियो ।

तीन महिनाको अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको छ ।


क्लिकमान्डु