कर्मचारीलाई काठमाडौं नबस्न यातायात मन्त्रीको निर्देशन



काठमाडौं। सोमबार सचिव र सहसचिवहरुबीच भएको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कर्मचारीहरुलाई साइटमा जान निर्देशन दिएकी छन् ।

‘६० प्रतिशत कर्मचारी काठमाडौं बसेका छन्, यहाँ बसेर काम हुँदैन, सबै साइटमा जानुस् । हामी जुममार्फत् प्रगति विवरण लिन्छौं,’ उनले भनिन् ।

कहाँ साइटमा जाने त्यसको विवरण खुलाएर जान र केके हेरियो, केके भयो माइन्युट गनी उनले निर्देशन दिइन् । मासिकरुपमा कामको प्रगति विवरण तयार पारेर काम गर्ने परिपाटी बसाल्न मन्त्री यादवले निर्देशन दिएकी छन् ।

३ पटकसम्म म्याद थपिएको आयोजनाको अब म्याद नथपिने

तीन पटकसम्म म्याद थप भैसकेका आयोजना चौथोपटक नथपिने भएको छ । मन्त्री यादवले तीन पटक म्याद थप्दा पनि काम शुरु नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिइन् ।

उनले निर्माण व्यवसायीलाई काम गर्ने अवसर दिने तर काम शुरु नगरे कारवाही अघिबढाउने बताइन् । उनले कर्मचारीहरुलाई निर्देशन दिँदै भनिन्, ‘तपाईंहरु नडराउनुस्, हामी विकास गर्ने हो । उसैबाट काम गराउने हो । मरिगए पनि काम गर्दिन भन्नेलाई कारबाही गर्ने हो ।’

५० देखि ६० प्रतिशत अहिलेको समस्या निर्माण व्यवसायीकै कारण भएको उनको भनाइ छ ।

सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिने प्रावधान रहेका कारण समस्या भएको उनको भनाइ छ ।


क्लिकमान्डु