१८औं हस्तकला व्यापार मेला आगामी मंसिर ३ गतेबाट हुँदै



काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी मंसिर ३ गतेबाट १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघले नेपालमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्नका लागि आगामी ३ गतेदेखि ५ गतेसम्ममा कला प्रतियोगिता आयोजना गर्ने भएको हो ।

उक्त आयोजना कार्यक्रम होटल ह्यात रेजेन्सी बौद्धमा हुने भएको छ । जसमा देशभरका विभिन्न जिल्लाका व्यवसायीहरूको १२० वटा स्टलमा हस्तकला प्रदर्शन हुनेछ । तीन दिनसम्म हुने प्रदर्शनका लागि महासंघले ४० हजारदेखि ५० हजारसम्म स्टलको मूल्य तोकेको छ । साथै, मेला तथा प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

मेलामा करिब ३० हजारभन्दा बढी आगन्तुकहरुलाई मेला अवलोकनको निःशुल्क प्रवेश पास वितरण गरिने महासंघले जनाएको छ । त्यसमासहभागी हुन चाहने अवलोकनकर्ताले १ सय रुपैयाँको टिकट खरिद गरी अवलोकन गर्न पाउनेछन् ।

कोभिड–१९ का कारण गत वर्ष मेला आयोजना हुन सकेको थिएन । यो वर्ष पनि कोभिडकै समय भएकाले सामाजिक दूरीलाई मध्यनजर गर्दै ह्यात रेजेन्सीमा हुने भएको महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।

उक्त मेलाको प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्तर्गत नेच्यूरल फाइवर (प्राकृतिक रेसा) र जडाउ कला (फिलिग्री आर्ट) गरी २ वटा विधामा प्रतियोगिता हुने भएको छ । जसमा उक्त २ विधाका प्रतियोगितामा सहभागी भई प्रथम भएकालाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रकमसहित पमाणपत्र वितरण हुनेछ ।

त्यसैगरी, महासंघले ७० वर्ष नाघेका १० जेष्ठ कलाकारहरूलाई तथा हस्तकला वस्तुहरू विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ठ निकासीकर्तालाई सम्मान गर्ने भएको छ ।

महसंघका उपाध्यक्ष शाक्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एक स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु रहेकाले हरेक वर्ष मेला आयोजना गर्दै आएको बताए ।

व्यापार मेलामा एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री, उत्कृट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोधित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदा आइसीएको उजागर, क्राफ्ट प्रतियोगिता हुने भएको छ ।

मेलामा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्तासँग व्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्ने महासंघको भनाइ छ । साथै, व्यापार मेलाले यस क्षेत्रमा सकारात्मक उर्जा उत्पन्न गर्न सहयोग पु¥याउने महासंघले विश्वास लिएको छ ।

उक्त व्यापार मेलाले नेपाली हस्तकलाको आन्तरिक बजार तथा निर्यात व्यापारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने जनाएको छ ।

त्यस्तै, स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्न, नवोदित उद्यमी व्यवसायीहरुलाई बजार पहुँचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न यो मेलाको महत्वपूर्ण भूमिका रहने महासंघले अपेक्षा राखेको छ ।

सो मेलामा करिब १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ८० मुलुकभन्दा बढी देशमा निर्यात हुँदै आएको हस्तकला व्यवसायी तथा उद्योगीले सामान्य अवस्थामा वार्षिक १२ अर्ब रुपैयाँसम्मको हस्तकला निर्यात गर्दै आएका थिए ।

तर, कोभिड–१९ का कारणले उक्त निर्यातमा गिरावट आएर ६ अर्बमा सीमित भएको उपाध्यक्ष शाक्यको भनाइ छ । तर, उक्त समयवधिमा पनि सो रकम बराबरको निर्यात गर्नु ठूलो उपलब्धि रहेको महासंघले जनाएको छ ।

त्यससँगै, महासंघले सोही अवसरमा ई–कला नेपाल अनलाइन पोर्टलको शुभारम्भ तथा ह्यान्डिक्राफ्ट ट्रेड डारेक्टरी २०२१ एवं साधन माला पुस्तक विमोचन गर्ने भएको छ । ई–कलामा जुनसुकै व्यवसायीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्नेमा टेवा पुग्ने महासंघले जनाएको छ ।

महासंघको मुख्य आकर्षणमा शिप हस्तान्तरण तथा पुस्तान्तरण कार्यक्रम, नेपाल सरकार, राष्ट्रिय अभिलेखालयको सहयोगमा महत्वपूर्ण दुर्लभ अभिलेखहरुको प्रदर्शनी गरिने र निर्यातजन्य विभिन्न ३६ विधाका हस्तकला वस्तुहरुको प्रदर्शन गर्ने भएको छ ।


क्लिकमान्डु