राष्ट्र बैंकको हस्तक्षेपले निक्षेपको ब्याजदर दोहोरो अंकमा नपुग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेपले मंसिर महिनामा ब्याजदर १० प्रतिशतभन्दा तल नै हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै अहिलेको नयाँ व्यवस्थामा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकले मंसिर महिनामा एकवर्षको मुद्दति निक्षेपमा दिने ब्याजदर ९.७५ प्रतिशत हुने छ । बचतको आधारबाट हेर्दा ९.७५ प्रतिशत ब्याजदर एकवर्षको मुद्दती निक्षेपको हुने एक बैंकरले बताए ।

‘१०.०९ प्रतिशतसम्म एकवर्षको मुद्दति निक्षेपको ब्याजदर पुग्न सक्ने स्थिती भएपनि राष्ट्र बैंकको निर्देशनले दोहोरो अंकको ब्याजदर हुने छैन,’ ती बैंकरले भने ।

बैंकहरुले मंसिरदेखि लागू हुने गरेर नयाँ ब्याजदर प्रकाशित गर्ने तयारीमा रहेका छन् । ब्याजदर नबढाउनको लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको हो । यसअघि कात्तिक महिनामा बैंकहरुले ३० प्रतिशतभन्दा बढी ब्याजदर बढाएपछि राष्ट्र बैंकले ब्याजदर बढ्न नदिन नीतिगत व्यवस्था गरेको हो ।

‘खुल्ला बजार भनेपनि राष्ट्र बैंकले घुमाएर ब्याजदर आफै नै निर्धारण गरिदिने नीतिगत व्यवस्था गरेको छ,यसले सबै बैंकको ब्याजदर एउटै हुने छ,’ एक बैंकका सीइओले भने ।


क्लिकमान्डु