लिपुलेक, कालापानी र लिम्पियाधुरामा सरकारले यसरी गर्दैछ जनगणना



काठमाडौं । १२औं राष्ट्रिय जनगणना भोलिदेखि शुरु हुँदैछ । भोलि विहान गणकहरुले राष्ट्रपतिको विवरण संकलन गरेपछि यसको उद्घाटन हुनेछ ।

यसपटक सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि जनगणना गर्न लागेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार गरेको पत्रकार सम्मेलन विभागका प्रबन्ध निर्देशक नेविनलाल श्रेष्ठले यसपालीदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र बस्तीहरूमा पनि जनगणना गरिने बताएका छन् ।

भारतद्वारा अतिक्रमित ती क्षेत्रमा अन्य स्थानको तुलनामा फरक तरिका अपनाइनेछ । सरकारले ती क्षेत्रमा पनि जनगणना सङ्कलन गर्नका लागि कुटनीतिक पहल गरिएको र अहिले पनि यसका लागि छलफल भइरहेको विभागका निर्देशक श्रेष्ठले बताए ।

‘कुटनीतिक पहलबाट भएन भनि अन्य स्रोतहरु अपनाएर त्यहाँको जनगणना सङ्कलन गरिन्छ,’ श्रेष्ठले भने ।

यस क्षेत्रमा सङ्कलन गरिएको जनगणना भने अनुमानित हुनेछ । स्याटलाइटको माध्यमबाट घरधुरी पत्ता लगाएर मानिसको संख्या कति छन् भन्ने अनुमानसहितको रिपोर्ट तथ्याङ्कमा समावेश गरिने श्रेष्ठले बताए ।

‘हालको अनुमानित तथ्याङ्क हेर्दा ७ सयदेखि ८ सयभन्दा मानिस त्यस क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ,’ श्रेष्ठले भने ।


क्लिकमान्डु