जनगणना भोलिदेखि शुरु, पहिलो गणना राष्ट्रपतिबाट, ४ अर्ब लाग्ने



काठमाडौं । १२औं राष्ट्रिय जनगणना बिहीबार अर्थात् (कात्तिक २५ गते) भोलीदेखि शुरू हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको छ ।

बिहीबार बिहान ९ः३० बजे गणकहरुले राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुवात हुनेछ । जनगणनाको काम कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जम्मा १५ दिन सञ्चालन हुनेछ ।

विभागका निर्देशक श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने जानकारी दिए ।

उनीहरुले हरेक घर–घरमा पुगेर कुल ८० वटा प्रश्न सोधेर जानकारी संकलन गर्नेछन् । एक परिवारमा औसत १ जना गणकले २० मिनेट समय खर्चने श्रेष्ठले जानकारी दिए ।

‘जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सयजना सुपरीवेक्षक खटिएका छन्,’ श्रेष्ठले भने, ‘उनीहरुलाई दिने सबै प्रकारका तालिम पूरा भइसकेको छ ।’

विभागका अनुसार १ जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ ।

जनगणनामा सोधिने प्रश्नको उत्तर कानून (तथ्याङ्क ऐन २०१५) बमोजिम गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह समेत गरेका छन् ।

काठमाडौंमा डिजिटल पद्धति अपनाइने
यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेटको प्रयोग गरिने भएको छ । जनगणनामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण सङ्कलन गरिने विभागले बताएको छ ।

देशभरका अन्य स्थानमा भने पुरानै शैली कागजी प्रश्नावलीमार्फत् जानकारी संकलन गरिने पनि निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।
डिजिटल माध्यमका लागि कुल २२५० वटा ट्यावलेट प्रयोग हुने विभागका निर्देशक श्रेष्ठले जानकारी दिए ।

यस्तै यसपालिको जनगणनामा पहिलो पटक विदेशमा रहेका नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको विवरण सङ्कलन गरिनेछ । तथ्याङ्क विभागका अनुसार विदेशस्थित नेपाली कुटनीतिक नियोगमा ई–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट विवरण सङ्कलन लागिएको हो ।

लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने
यसपटक लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार गरेको पत्रकार सम्मेलन विभागका प्रबन्ध निर्देशक नेविनलाल श्रेष्ठले यसपालीदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र बस्तीमा पनि जनगणना गरिने बताएका छन् ।

यस क्षेत्रको जनगणना सङ्कलन गर्नका लागि कुटनीतिक पहल गरिएको र अहिले पनि यसका लागि छलफल भइरहेको विभाग निर्देशक श्रेष्ठले बताए । कुटनीतिक पहलबाट भएन भनि अरु स्रोतहरु अपनाएर त्यहाको जनगणना सङ्कलन गरिने श्रेष्ठको भनाइ छ ।

यस क्षेत्रको जनगणना भने अनुमानित हुनेछ । स्याटलाइटको माध्यमबाट घरधुरी पत्ता लगाएर मानिसको संख्यामा भने अनुमानसहितको रिर्पोट तथ्याङ्कमा उल्लेख गरिने पनि श्रेष्ठले बताए ।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ ।

संकलित तथ्यांक मंसिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागले तयारी गरेको जानकारी दिएको छ । जनगणनाका लागि सरकारको खर्च ४ अर्ब सकिने विभागले बताएको छ ।

यी प्रश्न सोधिनेछन्

प्रश्नावलीलाई तीन खण्डमा विभाजन गरिएको छ । जसमा परिचयात्मक खण्ड, पारिवारिक खण्ड र व्यक्तिगत खण्ड राखिएको छ ।

परिचयात्मक खण्डमा प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर र टोलका साथै घरमूलीको नाम र सम्पर्क टेलिफोन वा मोबाइल नम्बर सम्बन्धी प्रश्न सोधिनेछन् ।

दोस्रो खण्डमा रहेको पारिवारिक खण्ड अन्तर्गत तपाईं बस्ने घर कस्को स्वामित्वमा छ ? घरको जग केले बनेको छ ? घरको बाहिरी गारो केले बनेको छ ? घरको छाना केले बनेको छ ? घरको भुँई कस्तो छ ? घरमा प्रयोग हुने खानेपानीको मुख्य स्रोत के हो ? खाना पकाउन कुन इन्धनको प्रयोग गर्नुहुन्छ ? बत्ति बाल्न कुन इन्धनको प्रयोग गर्नुहुन्छ ? परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ? घरायसी सुविधा तथा साधनहरु के के छन् ?

परिवारमा महिलाका नाममा घर जग्गा छ कि छैन ? परिवारका सदस्यहरु कृषि बाहेक अन्य कुन कुन पेशामा आबद्ध छन् ? पछिल्लो १२ महिनामा परिवारका कसैको मृत्यु भएको छ वा छैन ? मृत्यु भएकाहरुको विवरण, कुनै कामका लागि विदेश गएका व्यक्तिहरुको विविरणलगायतका प्रश्नहरु समावेश गरिएको छ ।

त्यसैगरी, व्यक्तिगत खण्ड अन्तर्गत परिवारमा निरन्तर बसोबास गरिरहने सबैको विवरण, घरमूलीसँगको नाता, लिंग, जन्ममिति, जात जाति, पुर्खाको भाषा, मातृभाष, दोस्रो भाषा, धर्म, देशका विषयमा प्रश्नहरु सोधिनेछन् । त्यसैगरी परिवारमा बस्ने सबैको शैक्षिक विवरण, जन्मस्थान, बसाइसरी आएको स्थान, विदेशमा गएकाहरुको विवरण, प्रजनन सम्बन्धी विवरण, जीवित जन्मेर मृत्यु भएका बच्चाहरुको विवरण, परिवारका सदस्यहरु कोसँग बसेका छन् ? अपांगता सम्बन्धी विवरण, १२ महिनायता कुनै प्रकारको आम्दानी हुने वा नहुने आर्थिक काम गरेको वा नगरेको विवरण, काम गर्ने स्थानबाट मुख्यरुपमा के उत्पादन हुन्छ, काम गर्ने संस्थागत क्षेत्र कस्तो हो ? लगायतका सम्पूर्ण विवरणहरु समावेश गरिनेछ ।


क्लिकमान्डु