‘नमस्ते पे’मा थपिदै छन् यी आधा दर्जनबढी फिचर, आईओएस भर्सन छिट्टै आउने



काठमाडौं । डिजिटल भुक्तानीमा बजार हस्तक्षेप गर्ने आँकलन गरिएको ‘नमस्ते पे’ले आधा दर्जनभन्दा धेरै नयाँ फिचरहरु थपेर आक्रमकरुपमा बजार प्रवर्द्धन गर्ने तयारीमा जुटेको छ ।

मंसिर महिनाभरीमा विभिन्न फिचरहरु एपमा थप गर्दै व्यवसायीक प्रर्वद्धन गर्ने ‘नमस्ते पे’को योजना छ ।

नेपाल टेलिकम र नेपाल वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीबाट सञ्चालित यस नमस्ते पेले ग्राहकहरुका लागि नेपाल मै पहिलो पटक इन्टरनेटविना नै ट्रान्सफर गर्न सकिने सुविधा पनि ल्याएको छ ।

मंसिर महिनभरीमा विभिन्न नयाँ फिचरहरु थप्न परीक्षणको काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए ।
‘मंसिरभरीमा ५–७ वटा नयाँ फिचरहरु थपिँदै छन्,’ क्लिकमाण्डूसँग कुरा गर्दै भण्डारीले भने, ‘आन्तरिक काम भइरहेकाले अहिले प्रमोसनमा धेरै ध्यान दिन पाएका छैनौं ।’

नयाँ फिचरहरु परीक्षण भइरहेकाले मंसिर महिनभरीमा एपमा आउने उनले बताए ।

नमस्ते पे भदौ २९ गते बेटा भर्सनको रुपमा सार्वजनिक भएको थियो । निश्चिन सुविधासहित परीक्षणका लागि भनेर कम्पनीले बेटा भर्सन सार्जनिक गरेको थियो । अब बेटा भर्सन हटाउने र नयाँ फिचरहरु थप्ने योजना नमस्ते पेको छ ।

नमस्ते पे एन्ड्रोइड भर्सनमा आए पनि आईओएसमा आएको छैन । केही समयभित्र आइफोन चलाउने ग्राहकको लागि आईओएस भर्सनमा नमस्ते पे एप आउँदै छ ।

त्यसैगरी, बैंकको क्यासइनका लागि ई-बैंकिङ, मोबाइल बैंकिङ, इलेक्ट्रोनिकका लागि नयाँ फिचर थपिदै छन् ।

यस एपबाट बैंकमा पठाउन र बैंकबाट वालेटमा पठाउन पनि सकिने छ । यस एपमा जोडिएको बैंकबाट एपमा पैसा लोड गरिरहनु पर्ने छैन ।

‘नमस्ते पे’मा जोडिएका बैंकहरुबाट सिधै पैसा ट्रान्सफर गर्न सकिनेछ ।

मर्चेन्टका लागि पनि नयाँ सेवाको परीक्षण भइरहेको छ । जस्तो कि टिकेटिङ, इन्टरनेटको बिल, टेलिभिजनको बिललगायतका सेवा नमस्ते पे एपमा थपिँदै छन् ।

अर्को महत्वपूण सुविधा भनेको एपमा क्युआर पेमेन्ट परीक्षणको काम भइरहेको छ । नयाँ फिचरसँग क्युआर पेमेन्ट सेवा पनि थपिने भण्डारीले बताए । मर्चेन्टसँग काम गर्न पीएसओका रुपमा एससीटी जोडिदै छ । उनीहरुसँग पनि परीक्षणको काम भइरहेको छ ।

बैंकमा रकम भुक्तानीका लागि एनसीएचएल जोडिँदै छ । यसले गर्दा वालेटबाट बैंकहरुमा पैसा पठाउन, तेस्रो व्यक्तिको बैंक खातामा भुक्तानी गर्न सकिने छ ।

त्यस्तै, सर्वसाधरणलाई भुक्तानी सेवाका पहुँच फराकिलो बनाउन एजेन्ट नेटवर्क निर्माण गर्ने काम भइरहेको छ । ‘नेटवर्कको एप्लिकेसन परीक्षण भइरहेको छ,’ भण्डारीले भने, ‘यसबाट पसल पसलबाट नमस्ते पे प्रयोग गरेर भुक्तानी गर्न मिल्ने सुविधा हुनेछ ।’

यि सबै सुविधाहरु मंसिर महिनाभित्र एपमा आउने छन् भने नयाँ सुविधा थपिनेक्रम चरणवद्धरुपमा भइरहने उनले बताए ।

अहिले आन्तरिक काम भइरहेकाले एपको डाउनलोड धेरै भएको छैन । नयाँ फिचरहरु थपेर प्रवद्र्धन गर्न लागेपछि यसको डाउनलोड र प्रयोग बढ्ने भण्डारीको भनाइ छ । ‘ग्राहकको सुझाबका आधारमा एपमा सुधार गर्ने र सेवाहरु थप्पगर्ने क्रममा छौं,’ उनले भने ।

नमस्ते पेले इन्टरनेट उपलब्ध नहुँदा पनि अनस्ट्रक्चरड सप्लिमेन्टरी सर्भिस डेटा (युएसएसडी) अर्थात् कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर रकम भुक्तानी गर्न सकिने बताइसकेको छ ।कम्पनीकाअनुसार मुलुकमा सञ्चालनमा रहेका मोबाइल वालेटहरुमा इन्टरनेटबिना

युएसएसडी प्रविधिबाट रकम पठाउन सकिने पहिलो वालेट नमस्ते पे हो । यसले इन्टरनेट सुविधा नभएका ग्रामीण क्षेत्रका उपभोक्तालाई सहज हुने कम्पनीको विश्वास छ ।

यस एपमा हुने अर्को सुविधा भनेको ‘वालेट टु वालेट फन्ड ट्रान्सफर’ हो ।

मुलुककै अग्रणी टेलिकम कम्पनी र अग्रणी वाणिज्य बैंकले सञ्चालन गरेको भुक्तानी सेवा प्रदायक भएकाले आफ्ना ग्राहक नमस्ते पेमा आउने उनीहरुको विश्वास छ । नेपाल टेलिकमको झन्डै डेढ करोड ग्राहक छन् भने वाणिज्य बैंकका ३५ लाख ग्राहक छन् ।

नेपाल डिजिटल पेमेन्ट्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा नेपाल टेलिकमको ६१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३९ प्रतिशत सेयर छ । चुक्ता पुँजीका आधारमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २८ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे हो ।


सन्तोष न्यौपाने