तिहारका लागि पौने ९ करोडको तास आयात



काठमाडौं । तिहार देउसीभैलोसँगै तास र जुवा खेल्ने पर्व हो । यस पर्वमा कति मनोरञ्जनका लागि तास खेल्छन् भने कतै जुवाको रुपमा लाखौं रुपैयाँको तास खेलेको पनि पाइन्छ ।

कानुनले तास खेल्न बर्जित गरेको छ तर मुलुकमा हरेक वर्ष करोडौं रुपैयाँको तास खुलेआम आयात र बिक्री भइरहेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ लाई मात्र हेर्ने हो भने तीन महिनामा मुलुकमा झन्डै ९ करोडको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ र आसोज महिनामा मात्र ८ करोड ७२ लाख ४१ हजारको ४३ लाख ३० हजार प्याकेट आयात भएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले वृद्धि हो । गत वर्ष २०७७/७८ पहिलो तीन महिनामा मुलुकमा ७ करोड ९५ लाख ७० हजारको ३८ लाख १६ हजार ३ सय १७ प्याकेट तास आयात भएको थियो ।

नेपालमा सबैभन्दा धेरै चीनबाट तास ल्याइन्छ । यस वर्षको तीन महिनामा चीनबाट मात्रै ७ करोड ९१ लाखको ३३ लाख ५३ हजार ३ सय ५८ प्याकेट तास आयात भएको छ ।

त्यसपछि भारतबाट ८१ लाख २७ हजारको ९ लाख ७६ हजार र अमेरिकाबाट एक हजारको ३६ प्याकेट तास आएको छ ।

गत वर्ष भने नेपालले यी तीन मुलुकबाहेक जर्जिया, इजरायल, मलेसियाबाट पनि तास ल्याएको थियो ।

वार्षिकरुपमा हेर्ने हो भने मुलुकमा २८ करोडभन्दा धेरैका तास भित्रिरहेको छन् ।

गत आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजारको १ करोड ३९ लाख ६९ हजारभन्दा धेरै प्याकेट तास आयात भएको थियो ।

सर्वसाधरणले दसै, तिहार जस्ता चाडपर्वमा तास धेरै खेले पनि क्यासिनो जस्ता जुवा घरमा भने वर्षैभरी खेलिन्छ । कानुनले तास खेल्न बन्देज गरेको छ तर हरेक पानपसलदेखि ठूला सपिङ महलमा खुलेआम बिक्री भइरहेको छ ।

नेपाल सरकारको अनुमतिमा क्यासिनोमा जुवा खेल्न र खेलाउन पाइने भए पनि त्यहाँ नेपाली प्रवेश गर्न भने अनुमित दिइएको छैन ।

गुणस्तरअनुसार बजारमा सस्तोदेखि महंगो मूल्यका तास पाइन्छन् । विदेशबाट आउनेबाहेक नेपालमा पनि तास उत्पादन भइरहेको छ ।


क्लिकमान्डु