सीडी रेसियो ९० कटेपछि यी ८ बैंक कर्जा दिन नसक्ने अवस्थामा



काठमाडौं । बैंकहरुको आक्रमक कर्जा विस्तार रोक्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्यो । जसको प्रभाव तत्कालै बैंकिङ प्रणालीमा देखियो ।

निक्षेपको तुलनामा कर्जा उच्च गतिमा बढ्दै गएको अवस्थामा राष्ट्र बैंकको उक्त व्यवस्थाले बैंकहरुलाई थप कर्जा दिनै नसक्ने अवस्थामा पुर्यायो । सीसीडीमा गणना हुँदै आएको ४ खर्ब रुपैयाँ हाराहारीको रकम सीडीमा गणना गर्न नमिल्ने भएपछि बैंकहरुलाई समस्या पर्यो ।

राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमै बैंकहरुको औषत सीडी रेसियो ८८.७४ प्रतिशत पुगेको छ । ०७८ असार मसान्तसम्म यस्तो रेसियो ७७.०६ प्रतिशत रहेको थियो । तीन महिनाको अवधिमा बैंकहरुको सीडी रेसियो ११.०८ प्रतिशत बिन्दुले बढेको छ ।

सीडी रेसियो तोकिएको सीमाभन्दा बढी भएका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा ८ वटा बैंक कर्जा लगानीगर्न नसक्ने अवस्थामा पुगेका छन् ।

चालु आवको पहिलो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ९५.३७ प्रतिशत पुगेको छ । यस्तै नेपाल एसबीआई बैंकको ९५.०८ प्रतिशत, हिमालयन बैंकको ९३.५४ प्रतिशत, कु्मारी बैंकको ९२.१३ प्रतिशत, एनएमबि बैंकको ९१.२७ प्रतिशत, मेगा बैंकको ९१.२१ प्रतिशत, प्राइम बैंकको ९०.२५ प्रतिशत, बैंक अफ काठमाण्डूको ९०.४८ प्रतिशत पुगेको छ । यी बैंक कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।

बाँकी १९ वटा बैंकको सीडी रेसियो भने ९० प्रतिशत भन्दा कम रहेको छ । प्राप्त तथ्याङक अनुसार कृषि विकास बैंकको ८८.९९, सेञ्चुरी बैंकको ८८.७०, सिटिजन्स बैंकको ८७.३९, सिभिल बैंकको ८७.९४, एभरेष्ट बैंकको ८६.३९, ग्लोबल आइएमई बैंकको ८९.१४, लक्ष्मी बैंकको ८८.९४, माछापुच्छे« बैंकको ८८.१०, नबिल बैंकको ८८.६४, नेपाल बंगलादेश बैंकको ८७.३८, नेपाल बैंक ८६.२३ प्रतिशत पुगेको छ ।

यस्तै एनसीसी बैंकको ८९.९६, एनआईसी एसिया बैंकको ८५.३२, प्रभु बैंकको ८२.६४, राष्ट्रिय वाणिज्य बैंकको ८५.११, सानिमा बैंकको ८५.२५, सिद्धार्थ बैंकको ८७.७५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८८.०६ र सनराइज बैंकको सिडी रेसियो ८४.६५ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु