तिहारको माहोलले मिठाई पसलमा चहलपहल बढ्यो, व्यापारमा सामान्य वृद्धि



काठमाडौं । तिहारको माहोलले बजारमा अत्याधिक भिड बढ्न थालेको छ । भाइमसला, फूलमाला र मिठाईको चाडपर्व मानिने तिहारमा बढी किनमेल भएकाले बजारमा अत्यधिक भिड बढ्न थालेको हो ।

मंगलबार धनतेरसका दिन अत्याधिक सुनचाँदी बिक्री हुनुका साथै मिठाईको पनि व्यापार बढेको थियो । हाल बजारमा भाइटीका नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ ।

त्यस्तै, तिहारको माहोलमा अत्याधिक बिक्री हुने खाद्य वस्तु हो मिठाई । हाल मिठाई पसलहरूमा भीड बढेको मिठाई व्यवसायीहरू बताउँछन् । तिहारभन्दा अगाडिसम्म व्यापार हुन नसकेको अवस्थामा हिजोबाट मिठाईको व्यापार सामान्यरुपमा बढेको उनीहरूको भनाइ छ ।

गत वर्ष कोरोना महामारीका कारण सामान्य अवस्थाको तुलनामा ६० प्रतिशतले मिठाई व्यापारमा गिरावट आएको थियो । कोरोना महामारीको पहिलो तिहार रहेको गत वर्ष लामो समयको बन्दाबन्दीपछि पनि तिहारमा व्यापार बढ्न नसक्दा धेरै व्यवसायीहरू मर्कामा परेको थियो ।

तिहारमा लक्ष्मी पूजाको दिन विभिन्न प्रकारका मिठाई र भाइटिकाका दिन रसबरी, गुलाब जामुन, लालमोहनजस्ता मिठाईका परिकार बढी बिक्री हुने गर्दछ । जसमा पहिलो शुरुवाती दिनदेखि अत्याधिक प्रयोग हुने मिठाईमा यो वर्ष सामान्य रुपले व्यापार बढेको व्यवसायीहरूको भनाइ छ ।

सामान्य अवस्थाको तुलनामा व्यापारमा निकै गिरावट आए पनि गत वर्षको तुलनामा सामान्य अवस्थाले व्यापार बढ्दा केही राहत मिलेको व्यासायीहरूले बताएका छन् ।

नयाँ बानेश्वरस्थित रहेको संगम स्वीट्स्का कर्मचारी विवेक बोहोरारले तिहारको माहाले शुरु भएसँगै व्यापार बढ्न थालेको बताए ।

उनकाअनुसार गत वर्षको तुलनामा केही मात्राले व्यापार बढेको छ । तर, कोरोनाले अवस्था सामान्य हुँदै गए पनि व्यापार भने अनुमान गरेको जस्तो हुन सकेको छैन ।

संगम स्वीट्स्को नेपालको विभिन्न स्थानमा आउलेट छन् । जसमा समग्रमा कम्पनीको व्यापार हेर्दा गत वर्षको तुलनामा १५ प्रतिशतसम्म व्यापार बढेको बताए ।

त्यसैगरी, बिकेनर स्वीट्स्का सञ्चालक भरत प्रसाद गुप्ताले गत वर्षको तुलनामा २५ प्रतिशतले व्यापार बढेको बताए । ‘सामान्य अवस्थामा विभिन्न क्षेत्रबाट मिठाइको अर्डर आउने गर्दथ्यो ।

कोरोपश्चात भने अर्डर आउन छोडेको छ,’ उनले भने । गत वर्ष कोरोना करिब ८ महिना जति व्यापार बन्द भएको अवस्थामा व्यापार नै गर्न सक्ने अवस्था थिएन । सो वर्ष गुप्ताले व्यापार गर्न नसकेपनि यो वर्षभने १० लाखसम्मको व्यापार हुने अनुमान गरेका छन् ।

मंगलबार धनतेरसबाट मिठाइमा व्यापार बढ्न थालेको छ । जसमा टीकाको दिनसम्ममा राम्रो व्यापार हुने व्यापारीहरूले अनुमान लगाएका छन् ।

न्यू आरती स्वीट्स्का कर्मचारी बेल शाहले बजारमा चहलपहल शुरु भए पनि सामान्यरुपले व्यापार भएको बताए । यो वर्ष कोरोना महामारीको समय भए अवस्था सामान्य हुँदा व्यापार बढ्न नसकेको गुनासो पोखे ।

राम भण्डारका कर्मचारी सुज खतिवडाले तिहारको माहोलमा भीड बढेको बताए । गत वर्ष सामान्य व्यापार भएको अवस्थामा यो वर्ष भने भिडसँगै व्यापार पनि राम्रो भएको उनको भनाई छ ।

यतिबेला विभिन्न ठाउँबाट लक्ष्मी पूजाको दिनका लागि धेरै मिठाईको अर्डर आउँथ्यो यो वर्ष सामान्य मात्रै अर्डर आएको महाराजगञ्जस्थित रहेको टिप टप स्वीट्सका शाखा प्रबन्धक दीपकराज थपलिया बताउँछन् ।

उनकाअनुसार गत वर्ष ग्राहकको चाँप नभएका कारण सामान्य रुपले तयारी गरेको थियो । यो वर्ष भने अर्डर र भिड बढेकाले सोहीअनुसार तयारी गरेको छ ।

‘यसपटक सामान्य अर्डर आएको छ । गत वर्ष शुन्य जस्तै रहेको अर्डर यो वर्ष करिब २० प्रतिशतले बढेको छ,’ उनले भने ।

कोरोना महामारी कारण बजारमा अत्याधिक रुपमा खाद्यान्नको मूल्य बढे पनि मिठाईको मूल्य नबढेको मिठाइ व्यवसायीहरूको भनाइ छ ।

सामान्य अवस्थाभन्दा खाद्यान्नको मूल्य बढेको अवस्थामा पनि मिठाईको मूल्यमा कुनै फरक नरहेको उनीहरूको बुझाई छ । त्यसमा गुणस्तरको आधारमा विभिन्न व्यवसायीहरूले मूल्य कायम भएको व्यवसायीहरू बताउँछन् ।


क्लिकमान्डु