जगदम्बा स्टीलले १ लाख २९ हजार मेट्रिक टन बिलेट आयात गर्दा साखः स्टीलको ६२ सय टनमात्रै



काठमाडौं । सरकारले विलेट आयातमा लाग्ने अन्तःशुल्क बढाएपछि उद्योगीहरु दुई ध्रुवमा विभाजित भएका छन् । सरकारको निर्णयले नेपाल स्टील बिलेट उत्पादक संघ विभाजित भएको छ ।

विलेट आयात गरेर डन्डी उत्पादन गर्ने र स्पञ्ज आइरन आयात गरेर विलेट तथा डन्डी उत्पादन गर्ने उद्योगीहरु विभाजन भएका थिए ।
सरकारी नीतिको विलेट उत्पादन गर्ने उद्योगीले स्वागत गरेका थिए भने विलेट आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगीले खुलैरै विरोध गरेका थिए ।

तारे होटलको पत्रकार सम्मेलनबाट शुरु भएको उद्योगीहरुको विवाद संसदीय समितिसम्म पुगेको छ ।

संसदीय समितिमा बिलेट उत्पादन गर्ने र विलेट आयात गरेर डन्डी बनाउने उद्योगीहरु निर्णय यथावत राख्न र परिवर्तन गर्नका लागि लविङमा लागेका छन् ।

विलेट आयात गर्ने उद्योगीहरुले सरकारको निर्णयले डन्डी उत्पादन गर्ने उद्योगहरु धराशायी बनेको बताएका छन् । पत्रकार सम्मेलनदेखि संसदीय समितिसम्म विलेटमा अन्तःशुल्क बढाउने नीतिले उद्योगहरु धराशायी बनेको बताएका उद्योगी किरण साखःको उद्योगले भने गत आर्थिक वर्षमा निकै कम बिलेट आयात गर्ने कम्पनीमा परेको छ ।

अर्थसमितिमा अर्थमन्त्रालयले उद्योगहरुले गत आर्थिक वर्षमा आयात गरेको विलेट र स्पञ्ज आइरनको विवरण पठाएको थियो । जसमा सबैभन्दा बढी विलेट आयात गर्नेमा जगदम्बा स्टील कम्पनी छ । उक्त कम्पनीले गत आवमा १ लाख २९ हजार २०७ मेट्रिक टन विलेट आयात गरेको थियो ।

धेरै विलेट आयात गर्ने दोस्रो नम्बरमा रहेको श्री स्टीलले १ लाख १६ हजार ५९४ मेट्रिक टन र तेस्रो नम्बरमा जगदम्बा इन्टरप्राइजेजले ९६ हजार २९६ मेट्रिक टन विलेट आयात गरेको छ ।

सबैभन्दा कम विलेट आयात गर्नेमा अशोक स्टीलले १ हजार ५०६ मेट्रिक टन, फेरोज स्टीलले २ हजार ७३१ मेट्रिक टन र साखः स्टीलले ६ हजार २०५ मेट्रिक टन विलेट आयात गरेका छन् ।

विलेटमा अन्तःशुल्क बढाउने नीतिको सबैभन्दा बढी विरोध किरण साखःले गरेका छन् । बिलेट आयात गर्ने अन्य उद्योगीले भन्दा चर्को विरोध साखःको छ ।

तथ्यांकले भने साखःको उद्योग साखः स्टीलले शुल्क नबढ्दा पनि सबैभन्दा कम विलेट आयात गर्ने उद्योगमा परेको छ । गत आवमा विलेट आयातबाट सरकारले १२ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा सबैभन्दा बढी आयात गरेको जगदम्बा स्टीलले मात्रै १ अर्ब ४२ करोड रुपैयाँ राजस्व बुझाएको छ ।

अर्थमन्त्रालयले गत आर्थिक वर्षमा १ लाख ९१ हजार ५९५ मेट्रिक टन स्पञ्ज आइरन आयात भएको विवरण समितिमा पेश गरेको छ । गत आवमा स्पञ्ज आयात गर्नेमा सबैभन्दा बढी जगदम्बा स्टील नै रहेको छ । जगदम्बा स्टीलले गत आवमा १ लाख १४ हजार ८७२ मेट्रिक टन स्पञ्ज आइरन आयात गरेको छ ।

स्पञ्ज आइरनबाट सरकारले गत आवमा १ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा जगदम्बा स्टीलले स्पञ्ज आइरन आयात गर्दा ८५ करोड ६४ लाख रुपैयाँ राजस्व बुझाएको छ ।


क्लिकमान्डु