महिला लघुवित्तको लाभांशमा बोनस शेयरको मात्रा बढ्यो



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संसोधन भएको छ । लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको जनाएको छ ।

लघुवित्तको शुक्रबारको सञ्चालक समितिको बैठकले ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ ।

यसअघि असोज २२ गते लघुवित्तले चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन् ।

लघुवित्तले सेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत माघमा मात्रै सर्वसाधारणमा ४ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो ।


क्लिकमान्डु