वृहतले रामकोटमा लक्जरियस हाउजिङ बनाउँदै, शुरुवाती मूल्य सवा ४ करोड
काठमाडौं । वृहत ग्रुपको वृहत इन्भेष्टमेन्ट प्रालिले रामकोटमा लक्जरियस हाउजिङ निर्माण गर्ने भएको छ ।
विगतको दिनमा पनि विभिन्न स्थानमा हाउजिङ निर्माण गर्दै आएको कम्पनीले रामकोटमा सुविधा सम्पन्न ‘रामकोट प्रिमियम रेसिडेन्स’ निर्माण गर्ने भएको हो ।
सितापाइलादेखि करिब ३ किलोमिटरमा रहेको नागार्जुन नगरपालिका रामकोटमा कम्पनीले विभिन्न प्रकारका घरहरू निर्माण गर्ने भएको हो ।
कम्पनीले रामकोटको उपयुक्त स्थानमा १० वटा युनिट हाउजिङ निर्माण गर्ने भएको कम्पनीका सेल्स म्यानेजर प्रमोद बानियाले जानकारी दिए ।
उनकाअनुसार कम्पनीले यसअघि पनि विभिन्न स्थानमा हाउजिङ निर्माण गर्दै आएका छन् । तर, हाल रामकोटको प्रोजेक्ट अन्य प्रोजेक्टभन्दा भिन्न रहेको उनको भनाइ छ ।
‘रामकोटको निर्माण भइरहेको प्रिमियम प्लटको स्थान माथिल्लो रहेको छ । त्यसमा भ्यूदेखि निर्माण सामग्री लक्जरियस प्रकारको प्रयोग हुनेछ । त्यसैले, सो हाउजिङलाई भिन्न र लक्जरियस भनेको हो,’ उनले भने ।
कम्पनीले हाल निर्माण भइरहेको हाउजिङको लागि गुणस्तरयुक्त निर्माण सामग्री प्रयोग गरी सुविधायुक्त निर्माण गर्नेछन् । जसमा ग्राहकहरूले आरमदायीका साथ बस्न पाउने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले हाल निर्माण कार्य तीब्र रुपमा अगाडि बढाएको छ । दशैअघिनै बुकिङ खुल्ला गरेको कम्पनीले आगामी ९ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए ।
कम्पनीले सो क्षेत्रमा साढे तीन तल्लासम्मको १० वटा युनिटको घर बनाउनेछन् । जसमा कम्पनीले दुई प्रकारका घर बनाउने भएको उनले बताए ।
त्यसैगरी, कम्पनीले रामकोटमा साढे ५ आनादेखि १० आना २ पैसासम्मको क्षेत्रफलमा साढे ३ तल्लासम्मको घर निर्माण गर्नेछन् । सो घरहरू १५ सय स्क्वायरफिटदेखि २२१० स्क्वायरफिटमा बन्नेछन् ।
कम्पनीले दुई प्रकारका घर बनाउने भएकाले सोहीअनुसार मूल्य कायम गरेको छ । जसमा कम्पनीले क्षेत्रफलअनुसार घरको मूल्य फरक–फरक तोकेको बताए ।
उनकाअनुसार कम्पनीले उक्त निर्माण भइरहेको एउटा घरको न्यूनतम मूल्य ४ करोड २६ लाख रुपैयाँदेखि अत्यधिक ६ करोड ७० लाख रुपैयाँ मूल्य तोकेको छ ।
‘कम्पनीले घर निर्माण गर्दा क्षेत्रफलको आधारमा निर्माण गरेको छ । जसमा साढे ५ आनादेखि निर्माण गर्ने हाउजिङमा जति धेरै जग्गामा निर्माण भयो सोही अनुसार मूल्य बढी पर्नेछ,’ उनले क्लिकमान्डूसँग भने ।
वृहतले साढे ३ तल्ला घरमा ३ देखि ४ वटा बेडरुम, मास्टर कोठामा बाथरुमसहित ड्रेसिङको व्यवस्था हुनेछ । त्यस्तै, सो घरमा स्टोर र लुगा धुने क्षेत्रको पनि राम्रो सुविधा हुनेछ । साथै, काठको सिढी र हरेक कोठामा पार्केटिङको व्यवस्था हुनेछ ।
त्यससँगै, कम्पनीले सो क्षेत्रमा पर्याप्त पार्किङको व्यवस्था, खानेपानी, ढल, स्वीमिङ पुल, जिम हल, गार्डेन, २४ सै घण्टा सीसी क्यामरा र सुरक्षा गार्डको व्यवस्था हुने कम्पनीले जनाएको छ ।